लोकतन्त्र समाचारदाता–
सर्लाही, मंसिर २६ । सर्लाहीको कबिलासी नगरपालिकामा कार्यरत करारका कर्मचारी र व्यापारीहरु पालिका विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।
पालिका अन्तर्गत १० वटै वडामा कार्यरत करार सेवाका सि.एम.ए, कार्यालय सहयोगी तथा सवारी चालकहरु गरि ३६ जना कर्मचारीहरु बिगत १५ महिना देखि तलब भत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन ।
दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुको पालिका माथि १५ महिनाको तलब भत्ता बापत १ करोड २४ लाख २७ हजार रुपैया भुक्तानी गर्न बाँकी रहेको कबिलासी न.पा का वडा न–८ का वडा कार्यालयमा कार्यरत कम्पियुटर अपरेटर सन्तोष कुमार यादवले बताएका छन् ।
आफुहरु पटक पटक तलब भत्ता भुक्तानी गरिदिन अनुरोध गर्दा पनि कुनै सुनवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको यादवले बताए ।भोली (बुधबार) देखि कार्यालयमा तालाबन्दी गर्ने निर्णय भएको आन्दोलनरत कर्मचारीहरुले बताएका छन् ।
त्यस्तै कबिलासी नगरपालिकाको कार्यालय रहेको क्षेत्र आसपासका आधा दर्जन व्यापारीहरु पनि पालिका माथि ८ लाख ३७ हजार रुपैयाँ बाँकी रहेको तर पालिकाले भुक्तानी गर्न आलटाल गरेको भन्दै उनीहरू पनि कर्मचारीहरु सँगै मिलेर आन्दोलन थालेका छन् ।
हरिन्दर होटलका संचालक हरिन्दर साहका अनुसार पालिकाले विभिन्न पसलहरु बाट सामानहरु उधारोमा खरिद गर्दै आएको र सो बापत बिल लिएर भुक्तानी माग्न जाँदा विभिन्न बहानाहरु बनाएर भुक्तानी दिन आलटाल गर्दै आएको छ । हरिन्दर होटलको १ लाख ३४ हजार बाँकी रहेको छ ।सोही ठाउँको राजिब किराना पसलको ५१ हजार, दिपु होटलको ७२ हजार र प्रणव कम्युनिकेशनको ५४ हजार ७ सय रुपैयाँ भुक्तानी लिन बाँकी रहेको व्यापारीहरुले बताए ।
पालिकामा नया प्रमुख प्रशासकीय अधिकृत बिष्णु यादव आएको छ । पालिकामा कार्यरत सहलेखापाल सुरेन दास कार्यालयमा नआउदा समस्या विकराल बन्दै गएको प्रमुख प्रशासकीय अधिकृत बिष्णु यादवले बताए । लेखापाल के कति कारणले कार्यालय आउदैन र फोन गर्दा फोन पनि उठाउदै यस्तो गैरजिम्मेवार लेखापालका कारण समस्या भएपछि आफुले लेखापाल संग स्पष्टीकरण लिखितमा मागेको पनि अधिकृत यादवले बताउनु भयो ।
लेखापाल दासका कारण समग्र कविलासी नगरपालिकाको बदनामी भईरहेको वहाले थप्दै भने । यता पालिकामा कार्यरत कर्मचारीहरु कार्यालयमा जहिले पनि अनुपस्थित भएपछि सेवाग्रहीहरुलाई समस्या भएको पालिकाका एकजना कार्यालय सहयोगीले भने ।

