Loktantra Khabar National Weekly
Ad

पाठेघरको रोगबाट महिलाहरुले अब अकालमा ज्यान गुमाउनु नपर्ने ,रोगको पहिचानका लागि हरिवनका महिलाहरुलाई अब बाहिर जानबाट छुटकारा

लोकतन्त्र खबर
१९ आश्विन २०८०

लोकतन्त्र समाचारदाता—-
सर्लाही,असोज १९

सर्लाहीको हरिवन नगरपालिकाले पाठेघरको मुखमा हुने क्यान्सर रोगको उपचार समयमा नपाएर अकालमै ज्यान गुमाउँदै आएका महिलाहरुको समस्याको समाधान गर्न सासापुर स्वास्थ्य चौकीबाट रोगको पहिचान गर्न स्क्रिनिङ सेवा सुरु गरेको छ।

पाठेघरको मुखमा हुने क्यान्सर रोगको पहिचान गर्ने बिधिहरु मध्येको एक एच.पि.भि.डिएन.ए बिधि तथा रोग पहिचान सम्वन्धि एकदिने अभिमुखिकरण कार्यक्रम हरिवनमा सम्पन्न गरि सेवाको बारेमा जानकारी गराइएको छ ।

स्वास्थ्य तथा सामाजिक विकाश शाखा हरिवनको आयोजना तथा स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य माहशाखा काठमाण्डौको प्राबिधिक सहयोगमा हरिवन न.पा स्थित सासापुर स्वास्थ्य चौकीमा सम्पन्न भएको कार्यक्रममा सो विषयमा जानकारी गराइएको हो।

सासापुर स्वास्थ्य चौकी ब्यवस्थापन समिति तथा वडा नम्बर ४ का वडा अध्यक्ष केशब थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि धुलिखेल क्यान्सर हस्पिटलका क्यान्सर रोग विशेषज्ञ डाक्टर डा. सुलिना शाक्यले क्यान्सर रोगको प्रकार, लक्षण र उपचार गर्ने पद्धतिका बारेमा कार्यक्रममा सहभागी भएका सरोकारवालाहरुलाई जानकारी गराएकी थिइन्।

उनले रोगको लक्षण देखिए पछि उपचार गर्नु भन्दा रोग नलाग्दै हरेक ६-६ महिनामा पाठेघरको परिक्षण गराए महिलाहरुलाई अकालमा ज्यान गुमाउनबाट बचाउन सकिने बताइन्।

नेपालमा अधिकांश महिलाहरुको ज्यान पाठेघरको क्यान्सरबाट जाने गरेको स्वास्थ्य विभागको तथ्यांकले देखाएको छ। गाउँघरमा अहिले पनि महिलाहरुमा चेतनाको कमि रहेको छ। लाज र संकोचका कारण उनीहरू स्वास्थ्य परिक्षण गराउन जाँदैनन् । जसले गर्दा रोग बढ्दै जान्छ र अकालमा ज्यान गुमाउनु पर्छ डा.शाक्यले बताइन।

विशेषतः ४५बर्ष माथिका महिलाहरुमा यो रोगले सताउने गरेको पाईएको छ । महिनाबारी रोकिन लागेका र महिनाबारी रोकी सकेका महिलाहरुमा यो रोग हुने गरेको पाईएको छ ।कतिपय अवस्थामा रोगका किटाणुहरु(भाइरस) शरिरमा प्रवेश गरिसकेको भए पनि तत्कालै लक्षण देखा नपर्ने र लक्षण देखा परी सके पछि उपचारमा समस्या आउने हुँदा समय समयमा पाठेघरको परिक्षण गराउन डा.शाक्यले सुझाव दिए।

हरिवनमा मात्रै ५८ जना क्यान्सरका रोगीहरु फेला परेको जसमा३५ जना पाठेघरको मुखमा क्यान्सर भएको पाईएको छ ।सुरुमा महिलाको यौनाङ्गमा पानीको मात्रामा कमि आउनु,बेला बेलामा रगत जस्तो आएको देखिनु,तल्लो पेट दुख्नु ,गन्हाउने पानी बग्नु जस्तो लक्षण देखिने गर्दछ ।

नेपाल सरकारले हरिवन न.पा लाई पहिलो प्राथमिकतामा राखेर पाठेघरको मुखमा लाग्ने क्यान्सर रोगको पहिचान गर्ने उपकरणहरु र क्यान्सरका बिरामीले सेक्ने मेसिन उपलब्ध गराई सकेकोले निर्धक्क साथ सेवा लिन परिवार कल्याण समाज काठमाण्डौकी शाखा प्रमुख कबिता अर्यालले सबै सँग आग्रह गरिन् ।

कार्यक्रममा बिभिन्न वडाका वडा अध्यक्षहरु ,स्वास्थ्य शाखा हरिवनका स्वास्थ्यकर्मीहरु,महिला संजालका प्रतिनिधि र विभिन्न विद्यालयका शिक्षिकाहरु लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: