Loktantra Khabar National Weekly
Ad

मतदानस्थलको अनुगमन र सुरक्षा परिचालन तीव्र

लोकतन्त्र खबर
१० फाल्गुन २०८२

खुला सीमाका कारण संवेदनशील मानिएको महोत्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानस्थल अनुगमन र सुरक्षा परिचालन तीव्र पारिएको छ । नेपाल–भारतबीचको खुला सीमाका कारण निर्वाचन व्यवस्थापन चुनौतीपूर्ण बन्दै आए पनि जिल्ला सुरक्षा समितिले यसपटक बहु–तह सुरक्षा रणनीति अवलम्बन गरी उच्च सतर्कता अपनाइएको जनाएको छ । भारतको बिहार राज्यअन्तर्गत सीतामढी र मधुबनी जिल्लासँग करिब ३९ किलोमिटर खुला सीमा जोडिएको महोत्तरीमा सीमा पारिबाट हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रणलाई मुख्य चुनौतीका रूपमा लिइएको छ ।

खुला आवागमन, आपराधिक गतिविधि र निर्वाचन आचारसंहिता उल्लंघनको सम्भावनालाई दृष्टिगत गर्दै सीमा नाकामा निगरानी बढाइएको छ । महोत्तरीमा कायम २५८ मतदानस्थलमध्ये १६३ स्थललाई अतिसंवेदनशील, ८९ स्थललाई संवेदनशील र ६ स्थललाई सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । सोही आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीको संयोजनमा सुरक्षा घेरा तयार पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । मतदानस्थलको जोखिम मूल्यांकन गर्दा विगतका निर्वाचन अनुभव, भौगोलिक दुर्गमता, राजनीतिक प्रतिस्पर्धाको अवस्था, सीमा नजिकको अवस्थिति तथा सामाजिक सांस्कृतिक संवेदनशीलतालाई आधार बनाइएको बताइएको छ । अतिसंवेदनशील स्थलमा अतिरिक्त सुरक्षा फौज, नियमित गस्ती तथा विशेष निगरानीको व्यवस्था गरिएको छ ।

महोत्तरीका १५ वटै स्थानीय तहअन्तर्गत रहेका मतदानस्थलको भौतिक संरचना, पहुँचमार्ग, सुरक्षा संवेदनशीलता, विद्युत् आपूर्ति, खानेपानी र शौचालयलगायत आधारभूत सुविधाबारे विस्तृत अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जनाएको छ । उनका अनुसार दुर्गम र सीमावर्ती क्षेत्रका मतदानस्थलमा समयमै सामग्री पुर्याउने गरी वैकल्पिक मार्गको समेत पहिचान गरिएको छ । सीमा सुरक्षालाई प्रभावकारी बनाउन भारतीय प्रशासनसँग समन्वय बैठकलाई निरन्तरता दिइएको छ । पुस २४ गते रौतहटको चन्द्रनिगाहपुरमा सीतामढी जिल्लाका अधिकारीहरूसँग संयुक्त सुरक्षा बैठक सम्पन्न भएको थियो ।

मधुबनी जिल्लासँग जनकपुरधाममा अर्को चरणको सीमा सुरक्षा बैठक गर्ने तयारी भइरहेको जनाइएको छ । सीमापार आपराधिक गतिविधि, अवैध चलखेल तथा निर्वाचन प्रभावित गर्न सक्ने गतिविधि रोक्न दुवै देशका सुरक्षा निकायबीच सूचनाको आदान प्रदान सुदृढ पारिएको छ । प्रमुख जिल्ला अधिकारी यादवसहित मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रहरी उपरीक्षकद्वय शेरबहादुर अधिकारी र हेरम्ब शर्मा, जिल्ला निर्वाचन अधिकारी रञ्जिता झा तथा इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी विकास बमलगायतको संयुक्त टोलीले दक्षिणी सीमावर्ती क्षेत्रदेखि खयरमाराको विकट डाँडाछोड्केसम्मका मतदानस्थलको स्थलगत अनुगमन गरेको छ ।

अनुगमनका क्रममा सुरक्षा प्रबन्ध, मतदान कक्षको व्यवस्थापन, प्रवेश निष्क्रमण मार्ग, अपांगमैत्री पहुँच र आपतकालीन व्यवस्थापन योजनाबारे समेत समीक्षा गरिएको जनाइएको छ । निर्वाचनको वातावरण शान्त र विश्वसनीय बनाउन जिल्लाका चारै निर्वाचन क्षेत्रमा राजनीतिक दल, उम्मेदवार, जनप्रतिनिधि तथा नागरिक समाजसँग समन्वयात्मक अन्तरक्रिया गोष्ठी आयोजना गरिएको थियो । ती कार्यक्रममार्फत आचारसंहिता पालन, मतदाता सचेतना र शान्तिपूर्ण मतदानका विषयमा छलफल गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । उनका अनुसार संयुक्त सुरक्षा परिचालन, सीमा समन्वय र बहुपक्षीय सहकार्यका माध्यमबाट महोत्तरीमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गराउने तयारी अन्तिम चरणमा पुगेको छ । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: