मलंगवा – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को तयारीका सन्दर्भमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा निरीक्षण तथा नीति निर्देशन कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट आएका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय सर्लाही पुगेर निर्वाचनसम्बन्धी तयारी र निर्वाचन सेलको निरीक्षण गर्नुभएको हो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले जिल्लाको समग्र सुरक्षा अवस्था, शान्ति–सुरक्षाको स्थिति तथा हालसम्मका प्रहरी गतिविधिबारे प्रस्तुतीकरण गर्नुभयो। निरीक्षणपछि केन्द्रीय प्रवक्ता काफ्लेले निर्वाचन आचारसंहिता, मतदानस्थलको सुरक्षा व्यवस्थापन तथा निर्वाचनलाई पारदर्शी, भयमुक्त र सफल बनाउन प्रहरीले निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे निर्देशन दिनुभयो। साथै, प्रहरी आचरण र अनुशासनमा रही निर्वाचन कार्यमा खटिन सबै प्रहरी कर्मचारीलाई आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सौजन्य धड्कन एफ.एम.

