नेपाल इञ्जिनियर्स एशोसिएसनले गत फागुन ३ गते सर्लाहीको मलङ्गवामा सब–इन्जिनियर प्रमोद कुमार यादवको हत्या भएको घटनाको निन्दा गर्दै काठमाण्डूको माइतीघर मण्डलामा विरोध सभा आयोजना गरेको छ । एशोसिएसनले हत्यारालाई तुरुन्त कारबाही गर्न माग गर्दै मंगलबार यादवको आत्माको चीर शान्तिका लागि दीप प्रज्वलनसमेत गरेको छ । मलंगवा नगरपालिका–१० मा डेरा गरेर बस्दै आएका यादवलाई दुई जना मानिसले घर बाहिर बोलाएर गोली प्रहार गरेका थिए । एशोसिएसनले मंगलबार नै गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर हत्यारालाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गरेको छ । एशोसिएसनका पदाधिकारीहरूले इन्जिनियरहरूको सुरक्षा सुनिश्चित गर्न पनि माग गरेका छन् ।
यता नेपाल इन्जिनियर्स एशोसिएसनले मङ्गलबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर हत्यारालाई तत्काल पक्राउ गरेर कारबाही, पिडीत परिवारलाई उचित क्षतिपूर्तिसहित पिडीत परिवारबाट जागिरको ग्यारेन्टी र इन्जिनियरहरूको सुरक्षा सुनिश्चितताको माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी मार्पmत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै एशोसिएसनका केन्द्रीय सदस्य इन्जिनियर विक्रम कुमार दासले इन्जिनियर र प्राविधिक कर्मचारीको सुरक्षाको विषय राज्यले नजरअन्दाज गर्न नहुने बताए ।
पेसागत सुरक्षाको लागी प्रभावकारी कदम नचाले देशभरका इन्जिनियरहरू आन्दोलनमा उत्रन बाध्य हुने एसोसिएसनले चेतावनी दिएको छ । सब–इन्जिनियर यादवको हत्याबारे अनुसन्धान गर्न मधेस प्रदेश प्रहरी कार्यालय र वीरगन्ज स्थित नेपाल प्रहरी प्रदेश कार्यालयबाट पनि अनुसन्धान अधिकृतहरू खटिएका छन् ।
मधेस प्रदेशका डीआईजी गोविन्द थपलियाले हत्यामा संलग्नहरूबारे अनुसन्धान भइरहेको बताए । उनले भने, ‘प्रदेश र नेपाल प्रहरी प्रदेश कार्यालयबाट टोली खटाएर हत्यामा संलग्नहरूको खोजी गर्ने काम भइरहेको छ ।’ अनुसन्धान अधिकृतहरूले मृतकको मोबाइलमा भएको सम्पर्क विवरण विश्लेषण गरिरहेका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘मोबाइल मार्फत भएको कुराकानीको आधारमा योजनाकार सम्म पुग्ने प्रयास गर्दै छौँ ।’ यसैबीच यादवलाई गोली प्रहार गरी हत्या गरिएको घटनाप्रति विभिन्न राष्ट्रिय स्तरका ट्रेड युनियनहरूले घोर निन्दा र भत्र्सना गरेका छन् । घटनाले निजामती कर्मचारी वृत्तमा त्रास र आक्रोश फैलिएको छ ।
एकीकृत राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च तथा नेपाल निजामती कर्मचारी युनियन मधेश प्रदेश कार्यसमितिले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दोषीको यथाशीघ्र पहिचान गरी पक्राउ गर्न तथा कानुन बमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । सौजन्य जनकपुर टुडे

