Loktantra Khabar National Weekly
Ad

मलंगवामा सब–ईन्जिनियर हत्या प्रकरणः उच्च अदालत जनकपुरका कर्मचारीहरुद्वारा ‘पेन डाउन’

लोकतन्त्र खबर
५ फाल्गुन २०८२

सर्लाही – जनकपुरधामस्थित उच्च अदालत जनकपुरधामका कर्मचारीहरूले ‘पेन डाउन’ गरेका छन् । सर्लाहीमा गत आइतबार राति सब–इन्जिनियर प्रमोद कुमार यादवको गोली प्रहार गरी हत्या भएको घटनाप्रति उच्च अदालत जनकपुर, धनुषामा कार्यरत कर्मचारीहरूले ‘पेन डाउन’ गर्नुका साथै घटनामा संलग्न अपराधीलाई कारबाहीको माग गरेका छन् ।

उनीहरूले मृतक राष्ट्रसेवक कर्मचारीलाई शहीद घोषणा गरी परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन पनि आग्रह गरेका हुन् । मृतक परिवारका सदस्यलाई सरकारले जागिर समेत दिनुपर्ने उनीहरूले माग छ । हाल आसन्न निर्वाचनको सन्दर्भमा कर्मचारीहरू फिल्ड र कार्यालय दुवैमा खटिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै यस्तो घटनाले कर्मचारीको मनोबल घटाएको कर्मचारीहरूको भनाई छ । कर्मचारीहरूको पूर्ण सुरक्षा ग्यारेन्टी गर्न तथा कार्यक्षेत्र र व्यक्तिगत सुरक्षाको प्रत्याभूति गराउन राज्यसँग उनीहरूले माग गरेका हुन् ।

उक्त घटनाको विरोध तथा दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन दबाब सिर्जनाका निम्ति बिहान १०ः०० बजेदेखि १२ः०० बजेसम्म उच्च अदालतबाट प्रवाह हुने सेवा बन्द ‘पेन डाउन‘ गरिएको उच्च अदालत जनकपुरमा कार्यरत मनोज कुमार यादवले बताए । यादवले मृतक यादवलाई गोली प्रहार गरी हत्या गर्नेलाई यथाशीघ्र पक्राउ गरी कानुनी दायरामा नल्याए थप आन्दोलन गर्न बाध्य हुने र सम्पूर्ण देशभरका अदालतको कामकाज ठप्पसमेत पार्ने चेतावनी दिए । उनले आज दिनभरि नै कालोपट्टी बाँधेर काम गर्ने बताए । उनका अनुसार आज सर्लाहीका कर्मचारीहरूले दिनभर नै कामकाज ठप्प पारेर विरोध जनाइरहेका छन् ।

सिराहाको खुसीपुर नगरपालिका–६ वैशाख घर भएका सब इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादवको गत आइतबार राति मलङ्गवा नगरपालिका–१० स्थित डेरामा अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए । मोटरसाइकलमा आएका व्यक्तिले सब इन्जिनियर यादवलाई कोठाबाहिर बोलाएर गोली प्रहार गरेका थिए । उनको देब्रे छातीमा गोली लागेको थियो । सौजन्य धड्कन एफ.एम.

प्रतिक्रिया दिनुहोस्: