Loktantra Khabar National Weekly
Ad

सेयर बजारको ओरालो यात्रा कायम, नेप्से र कारोबार रकम दुवै घट्यो

लोकतन्त्र खबर
२८ माघ २०८२

काठमाडौं, २७ माघ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावटले मंगलबार पनि निरन्तरता पाएको छ । सोमबार २६.०५ अंक घटेको नेप्से सूचक मंगलबार १०.२५ अंक घटेको हो । मंगलबार नेप्से सूचक मात्रै होइन, कारोबार रकममा पनि उच्च गिरावट आएको छ । यो साताको पहिलो दिन आइतबारदेखि नेप्से सूचक र कारोबार रकम दुवैमा निरन्तर गिरावट आएको नेप्सेले जनाएको छ ।

मंगलबार कारोबार सुरु हुँदा २६७२.३९ अंकमा रहेको नेप्से १०.२५ अंक घटेर २६६२.१४ अंकमा झरेको छ । नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएपछि समग्र बजार सूचक नकारात्मक भएको हो । नेप्सेमा यस दिन १ सय ७९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ७४ कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन नेप्सेमा कारोबार भएका ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ । मंगलबार नेप्सेमा कारोबार भएका अधिकांश समूहगत परिसूचक पनि घटेका छन् । यस दिन बैंकिङ १.३२ अंक घटेको छ भने विकास बैंक ६५.६७ र वित्त २२.७१ अंक घटेका छन् ।

त्यसैगरी होटल ३५.६५, जलविद्युत् ९.०५, लगानी ०.५६, जीवन बीमा ९८.४४, उत्पादनमूलक ५९.७०, लघुवित्त २४.१७, निर्जीवन बीमा ६८.५६ र अन्य समूह ८.२३ अंक घटेका छन् । तर, मंगलबार नेप्सेमा सामूहिक लगानी कोष ०.०४ र व्यापार समूहमात्र १९.७० अंक बढेको छ । मंगलबार नेप्सेमा ३ सय २४ कम्पनीको ८९ हजार ८ सय ३६ कारोबारबाट २ करोड १७ लाख १५ हजार ८ सय ६८ कित्ता सेयर ८ अर्ब ६१ करोड रुपैयाँमा खरिद बिक्री भएको छ । यो कारोबार रकम सोमबारको तुलनामा थोरै हो । सोमबार नेप्सेमा १० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको थियो । सौजन्य अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्: