Loktantra Khabar National Weekly
Ad

घाँस काट्ने विवादले लियो उग्र रूप ! सामूहिक कुटपिटमा ३ महिला गम्भीर घाइते

लोकतन्त्र खबर
२८ माघ २०८२

रौतहटको देवाही गोनाही नगरपालिका क्षेत्रमा खेतमा घाँस काट्ने विषयमा सुरु भएको सामान्य विवादले उग्र रूप लिँदा सामूहिक आक्रमण भएको छ। घटनामा तीन महिला गम्भीर घाइते भएका छन् भने एक जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार राति वडा नं। ५ टीकुलिया गाउँमा भएको कुटपिटमा महेश तिवारीकी छोरीहरू २५ वर्षीया अस्मिता तिवारी र १५ वर्षीया सुस्मिता तिवारी तथा बचेलाल मुखिया बिनकी श्रीमती ४० वर्षीया अनतिया बिन गम्भीर घाइते भएका हुन्। घाइतेमध्ये अनतिया बिनको टाउकोमा गम्भीर चोट लागेको छ भने अस्मिता र सुस्मिताको शरीरका विभिन्न भागमा चोटपटक लागेको पारिवारिक स्रोतले जनाएको छ। तीनै जनालाई घटनालगत्तै एम्बुलेन्समार्फत बारा जिल्लाको कलैया स्थित ए प्लस अस्पतालमा लगिएको थियो। चिकित्सकका अनुसार उनीहरूलाई आईसीयूमा राखेर उपचार भइरहेको छ र अवस्था क्रमशः सुधारोन्मुख रहेको छ।

घटनामा संलग्न रहेको आरोपमा स्थानीय शंकर राय यादवका ४० वर्षीय छोरा शम्भु राय यादवलाई प्रहरीले पक्राउ गरेको छ। उनी हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेका छन्। रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजालले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रहरीका अनुसार विवादको जड आइतबारको घटनासँग जोडिएको छ। महेश तिवारीको तोरीबारीमा शंकर रायको घरका महिलाहरूले घाँस काटेको विषयमा असन्तुष्टि जनाउँदै अस्मिता तिवारीले सोमबार साँझ गुनासो गरेपछि दुवै पक्षबीच भनाभन भएको थियो। सोही विवादले पछि झडपको रूप लिएको बताइएको छ । आरोप अनुसार, विवादपछि शंकर राय यादव, उनका छोरा शम्भु यादव र परिवारका अन्य सदस्यहरू तिवारीको घरमा प्रवेश गरी कुटपिट गरेका थिए । झगडा छुट्याउन पुगेकी छिमेकी अनतिया बिनसमेत आक्रमणमा परेकी थिइन्। घटनापछि फरार रहेका मुख्य आरोपी शंकर राय यादव पनि पछि बिरामीको बहाना बनाएर उपचार गराईरहेको बताइएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटले थप अनुसन्धान जारी रहेको जनाएको छ । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: