महोत्तरी : निर्वाचन नजिकिएसँगै मुख्य दलहरूले आफ्नो औचित्यबारे राजनीतिक तर्क दिए पनि जनताले बेवास्ता गर्न थालेका छन्। दलका राजनीतिक तर्कवितर्कभन्दा सिँचाइ‚समयमा मलखाद, बीउ र सुलभ ऋण आफ्नो प्राथमिकतामा रहेको आम मतदाता बताउँछन्। चुनाव नजिकिँदै गर्दा महोत्तरीमा राजनीतिक दलका नेता÷कार्यकर्ता र उम्मेदवारको गाउँबस्तीमा आउजाउ बढेको छ दलका र अन्य स्वतन्त्र उम्मेदवार बस्तीबस्तीमा पुग्दा आम जनता यतिखेर दल र उम्मेदवारलाई आफ्ना मुद्दा सम्झाउन थालेका छन्। महोत्तरीका चारवटै क्षेत्रका मतदाताले सरकारी अड्डादेखि विकास निर्माणका कामसम्म पारदर्शिता र जवाफदेही कामको मुद्दा उठाएका छन्। क्षेत्र नम्बर १ जिल्लाको पूरै चुरे क्षेत्र ओगटेको जिल्लाको मुख्य वन क्षेत्र हो।
यहाँका मतदाताले प्राकृतिक सम्पदा वन, पहाड र नदीको संरक्षणका विषय मुख्य रूपमा उठाएका छन्। “हाम्रो क्षेत्रको प्राथमिकताको मुद्दा नदी, पहाडी थुम्का र वन क्षेत्रमा हुँदै आएको अनियन्त्रित उत्खनन र अतिक्रमण नियन्त्रणको विषय हो”‚ बर्दिबास–१४ का रामु अधिकारी भन्छन्। यी विषयमा स्पष्ट खाका देखाउने उम्मेदवार आफूहरूको रोजाइमा पर्नसक्ने उनको भनाइ छ । यसैगरी क्षेत्र नम्बर–२ का मतदाताले बर्खामा कटान र डुबान तथा हिउँदमा पानीको हाहाकार पर्दै सबै आएको समस्या मुख्य रूपले उठाएका छन् । महोत्तरी गाउँपालिका–६ का दिनेश महतो भन्छन्, “बर्खामा डुबान र कटानले पिरोलिन्छौँ‚ हिउँद लागेपछि सिँचाइको त कुरै छाडौँ, खानेपानीको पनि हाहाकार पर्छ।”
खेतीका लागि आफूहरूका लागि बीउबिजन, मल, कृषि ऋण र सिँचाइ प्रबन्ध हुन नसकेको उनको भनाइ छ। यसैगरी क्षेत्र नम्बर–३ का मतदाताले पनि नदी कटान डुबान तथा सिँचाइको असुविधा मुख्य समस्या भोग्दै आइएको बताएका छन्। जलेश्वर नगरका बासिन्दा युवा मतदाता भने यसपालिको निर्वाचनको मुख्य मुद्दा सुशासन हुनुपर्ने बताउँछन्। “हाम्रो बिग्रेकै कुरा बेथितिले हो, यसलाई विधिमा चलाउन सक्नुपर्छ,” जलेश्वर–२ का ३० वर्षीय सुनिल साह भन्छन्। यसैगरी क्षेत्र नम्बर ४ का बासिन्दा हर्दी र मडहा नदीको कटान र डुवानबाट वर्षौंदेखि पीडित छन्। यसैगरी यस क्षेत्रमा भरपर्दो अस्पताल नहुँदा विरामी हुँदा उपचारका लागि भारत जानुपर्ने बाध्यता रहेको यसै क्षेत्रको रामगोपालपुर–२ का सामाजिक कार्यकर्ता महम्मद कादिर हुसैन बताउँछन्। उनी भन्छन्‚ “हाम्रो क्षेत्र शिक्षा र स्वास्थ्यमा पहुँचका दृष्टिले निकै पछि छ।” निर्वाचन अभियानका क्रममा मत माग्दै बस्तीबस्ती पुग्दै गरेका दलका कार्यकर्ता र उम्मेदवारसँग मतदाता यी विषय उठाउँदै छन् । यी विषयसँग आफूलाई जोडेर निदानको स्पष्ट खाका कोर्नसक्ने उम्मेदवार मतदाता खोज्दै छन्। “हामी यसपालि यहाँका विषयमा स्पष्ट खाका देखाउने र त्यसको निदानको सुनिश्चितता दिने उम्मेदवारलाई रोज्छौँ,” भङ्गाहा–४ रामनगरका ३० वर्षीय रामईश्वर ठाकुरले भने।
मुख्य दलहरूले आ–आफ्नो उम्मेदवारीको औचित्यबारे राजनीतिक तर्क दिए पनि आम जनताले यी कुरामा वास्ता दिएका देखिँदैनन् । “राजनीतिक तर्कवितर्क हामीलाई सुन्नु छैन, हाम्रो खेतबारीमा कसरी पानी पुग्छ ? किसानले अब के सहुलियत पाउँछन्? समयमा मलखाद, बीउ र सुलभ ऋण कसरी पाइन्छ?”‚ भङ्गाहा–२ बखरीका किसान जीवछ सिंह थारू भन्छन्। जिल्लाका चारवटै प्रतिनिधिसभा क्षेत्रका आम बासिन्दा अधिकांश कृषि पेसामा आबद्ध छन् । यसपालिको चुनावमा भने लोलोपोतोमा भोट नजाने मतदाता बताउँछन् । सौजन्य थाहा खबर

