Loktantra Khabar National Weekly
Ad

वीरगञ्ज आदर्शनगरमा गोदाममा छापा, व्यापारी–सशस्त्र प्रहरीबीच झडप, एक सुरक्षाकर्मी घाइते

लोकतन्त्र खबर
२७ माघ २०८२

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाको मुख्य व्यापारिक क्षेत्र आदर्शनगरस्थित एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेको छ। राजस्व छलीको आशंकामा गरिएको छापामारीका क्रममा व्यापारी र सुरक्षाकर्मीबीच झडप हुँदा एकजना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन्।

सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल, वीरगञ्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीका अनुसार विशेष सूचनाका आधारमा संयुक्त टोली गोदाममा पुगेको थियो। खानतलासी सुरु गर्ने क्रममा स्थानीय व्यापारीहरूले विरोध जनाएपछि अवस्था तनावग्रस्त बनेको थियो।

व्यापारीहरूले आफूहरूसँग सामानको स्पष्ट बिलबिजक रहेको दाबी गर्दै विनाकारण दुःख दिइएको आरोप लगाएका छन्। उनीहरूको भनाइ अनुसार बिल देखाउँदा समेत सामान नियन्त्रणमा लिन खोजिएपछि आक्रोश बढेको थियो। सोही क्रममा आक्रोशित व्यापारीहरूको समूहले सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा गरेपछि झडप सुरु भएको सशस्त्र प्रहरीले जनाएको छ। झडपका क्रममा ढुङ्गा प्रहारबाट सशस्त्र प्रहरी प्रयोगमा रहेको गाडीको अगाडिको सिसा फुट्नुका साथै एकजना सुरक्षाकर्मी घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

सशस्त्र प्रहरीले गोदामबाट उल्लेख्य मात्रामा सामान नियन्त्रणमा लिएको भए पनि त्यसको विस्तृत विवरण र परिमाण सार्वजनिक गरिएको छैन। “हाल सामानको लगत संकलन र मुचुल्का उठाउने कार्य भइरहेको छ। गोदाम कसको हो भन्ने विषयमा समेत अनुसन्धान जारी छ,” नायब उपरीक्षक अधिकारीले बताए। घटनापछि आदर्शनगर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहन केसीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। यता व्यापारीहरूले भने वैध व्यवसाय गर्नेहरूमाथि समेत तस्करझैँ व्यवहार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सौजन्य यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: