Loktantra Khabar National Weekly
Ad

’सामाजिक सञ्जालको ‘स्टन्ट’ र लोकप्रियतावाद लोकतन्त्रका लागि खतरा’

लोकतन्त्र खबर
२७ माघ २०८२

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विचार र सिद्धान्तविहीन ‘लोकप्रियतावाद’ले लोकतन्त्र र समाजवादमाथि प्रहार गरिरहेको बताएका छन्। सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले २६ दलको एकता र नयाँ निर्वाचन चिह्न ‘तारा’ सहित आफ्नो पार्टी राष्ट्रिय सङ्कट सामना गर्न तयार रहेको उद्घोष गरेका हुन्। दाहालले सामाजिक सञ्जालमा गरिने ‘स्टन्ट’ र लोकप्रियतावादको आलोचना गरे । उनले विचार, राजनीति र इतिहास नभए पनि सामाजिक सञ्जालमा फण्डा गरेकै भरमा लोकतन्त्र र समाजवादमाथि प्रहार गर्ने कोशिस भइरहेको बताए। यो अन्तर्राष्ट्रिय भूराजनीतिक चलखेल र साम्राज्यवादले फैलाएको लोकप्रियतावादको नेपाली संस्करण मात्र भएको उनको टिप्पणी छ । उनले गणतन्त्र, सङ्घीयता र उत्पीडित वर्गको अधिकारका लागि लड्ने आफ्नो पार्टी नै सबैभन्दा ‘नयाँ’ विचार बोकेको शक्ति भएको दाबी गरे ।

अध्यक्ष दाहालले ‘जेनजी’ आन्दोलन र त्यसबाट उत्पन्न विशेष परिस्थितिलाई सम्बोधन गर्न देशमा एक बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको औँल्याए। सोही आवश्यकता पूर्ति गर्न वामपन्थी, समाजवादी र देशभक्तहरूलाई एकतावद्ध गर्दै २६ वटा साना–ठूला पार्टीहरूको एकताबाट ‘नेपाली कम्युनिस्ट पार्टी’ निर्माण गरिएको उनको भनाइ छ। उनले आजको जटिल राजनीतिक अवस्थामा निर्वाचन नै जनतामा जाने र नयाँ जनअनुमोदित प्रतिनिधि सभाले नै युवाका मागहरू सम्बोधन गर्ने उत्तम माध्यम भएको बताए। अध्यक्ष दाहालले पार्टीको नयाँ चुनाव चिह्न ‘तारा’ बारे मतदातालाई स्पष्ट पार्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो। सोसल मिडियालाई प्रचारको माध्यम बनाए पनि जनतासँगको प्रत्यक्ष भेटघाट र टोल–टोलको प्रचार नै बढी प्रभावकारी हुने उनको तर्क छ । सौजन्य थाहा खबर

प्रतिक्रिया दिनुहोस्: