Loktantra Khabar National Weekly
Ad

प्रहरी सहायक निरीक्षक हुँ भन्दै ठगी गर्ने सर्लाहीकी एक महिला रौतहटमा पक्राउ

लोकतन्त्र खबर
२७ माघ २०८२

सर्लाही – आफूलाई सिआइबीमा कार्यरत प्रहरी सहायक निरीक्षक भएको भन्दै सर्वसाधारणलाई झुक्याएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा सर्लाहीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही जिल्लाको कबिलासी नगरपालिका – १० सलेमपुर टोल निवासी ३५ वर्षीया निर्मला महतो रहेकी छन्। उनले नेहा, निशा तथा पुनम कुमारीलगायत फरक फरक नाम प्रयोग गरी ठगी गर्दै आएको प्रहरीले जनाएको छ। पीडितहरूको उजुरीका आधारमा उनलाई रौतहटको चन्द्रपुर नगरपालिका – ६ क्षेत्रबाट पक्राउ गरिएको हो। लालबन्दी नगरपालिका निवासी राजेश्वर साह, चन्द्रपुर नगरपालिका निवासी सन्तोष बहादुर विश्वकर्मा र प्रवीण साह तथा गुजरा नगरपालिका निवासी विजय साह बनियाँले आफूहरू ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए।

प्रहरीका अनुसार अटो चालकसमेत रहेका जाहेरवाला राजेश्वर साहसँग करिब एक वर्षअघि सर्लाहीको नवलपुर बजारमा निर्मला महतोको चिनजान भएको थियो। सो क्रममा उनले आफू प्रहरी सहायक निरीक्षक भएको दाबी गर्दै भन्सार कार्यालयबाट स्कारपियो गाडी छुटाइदिने प्रलोभन देखाई साहकी श्रीमतीको सक्कल नागरिकता, पासपोर्ट साइजका तस्बिर र नगद १ लाख ५० हजार रुपैयाँ लिएको आरोप छ। यस्तै, सन्तोष विश्वकर्माको ज्वेलर्स पसलबाट उधारोमा लिएको २ लाख ७४ हजार रुपैयाँ बराबरको सुनचाँदीको भुक्तानी नगरेको, विजय साह बनियाँसँग घरायसी समस्या देखाउँदै ५ लाख रुपैयाँ सापटी लिएको तथा प्रवीण साहको किराना पसलबाट उधारोमा सामान खरिद गर्नुका साथै स्कारपियो गाडी भाडामा लिएर १ लाख २६ हजार रुपैयाँ नतिरेको आरोपसमेत लागेको प्रहरीले जनाएको छ। निर्मला महतोविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । सौजन्य धड्कन एफ.एम.

 

प्रतिक्रिया दिनुहोस्: