मलंगवा – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा आज (बुधबार) बिहान भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार काँकडभिट्टाबाट बुटवलतर्फ गइरहेको लु ३ च ५४७२ नम्बरको कार ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलको तेस्रो कज्वेमा अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा रूपन्देहीको बुटवल उपमहानगरपालिका–१ निवासी २७ वर्षीय शुभम जैसवालको मृत्यु भएको छ । दुर्घटनाको खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले कारमा सवार चारै जनालाई उद्धार गरी उपचारका लागि बर्दिवास पु¥याएको थियो ।
गम्भीर घाइते शुभमको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सरोज राईले ज ानकारी दिए । दुर्घटनामा घाइते हुनेमा कार चालक २३ वर्षीय साहिल बर्मा, ४८ वर्षीय बृजकिशोर बर्मा र ५२ वर्षीय संजय जैसवाल रहेका छन् । उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार संजय जैसवालको अवस्था गम्भीर छ। घाइतेहरूलाई टाउको, छाती र ढाडलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सौजन्य धड्कन एफ.एम.

