Loktantra Khabar National Weekly
Ad

भारतसँगको खेल अस्वीकार गर्दै टी–२० विश्वकपमा सहभागी हुने पाकिस्तानको निर्णय

लोकतन्त्र खबर
२० माघ २०८२

पाकिस्तानले पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप २०२६ मा सहभागी गराउने निर्णय गरेको छ । तर समूह चरणमा भारतसँग श्रीलंकामा हुने खेल भने नखेल्ने जनाएको छ ।

फेब्रुअरी १५ अर्थात आउँदो फागुन ३ गतेका लागि तय भएको भारतसँगको खेल नखेल्ने निर्णय पाकिस्तान सरकारले आफ्नो आधिकारिक एक्समार्फत सार्वजनिक गरेको हो । यसअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीले पत्रकार सम्मेलनमा आईसीसीले दोहोरो मापदण्ड अपनाएको आरोप लगाउँदै भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को प्रभावमा रहेको दाबी गरेका थिए ।

यो घोषणा पाकिस्तानका प्रधानमन्त्री मियाँ मुहम्मद शेहबाज शरीफ र पीसीबी अध्यक्ष नक्वीबीच भएको महत्त्वपूर्ण बैठक सकिएको केही मिनेटमै सार्वजनिक गरिएको हो । नक्वीले गएको महिना पनि प्रधानमन्त्रीसँग भेट गरी विश्वकप सहभागिताबारे छलफल गरेका थिए । त्यसबेला उनले अन्तिम निर्णय जनवरी ३० वा फेब्रुअरी २ सम्म सार्वजनिक गरिने बताएका थिए ।

यसअघि आईसीसीले बंगलादेशलाई हटाएर स्कटल्यान्डलाई विश्वकपमा समावेश गरेपछि पाकिस्तानले पनि प्रतियोगितामा सहभागिता पुनः विचार गरिरहेको थियो । बंगलादेशले भारत भ्रमण गर्न अस्वीकार गरेपछि यस्तो निर्णय लिइएको थियो । बंगलादेश क्रिकेट बोर्डले बीसीसीआईको निर्देशनपछि बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई आईपीएल टोली कोलकाता नाइट राइडर्सबाट हटाइएपछि यो कदम चालेको बताइएको छ ।

यो विषयमा विभिन्न छलफल भए पनि सहमति हुन नसकेपछि आईसीसीले प्रतियोगिताको तालिका यथावत् रहने भन्दै बंगलादेशको अपिल अस्वीकार गरेको थियो र २४ घण्टाको समयसीमा पनि दिएको थियो । भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ फेब्रुअरी ७ अर्थात माघ २४ गतेदेखि शुरू हुँदैछ । यस प्रतियोगितामा नेपालसहित २० टोली सहभागी हुनेछन् । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: