वीरगञ्ज । पर्सा क्षेत्र नम्बर–३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामाकान्त चौरसिया माथि निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लागेको छ। चुनावी प्रचारप्रसारको क्रममा बालबालिकाको प्रयोग गरिएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गरिनुपर्ने माग उठेको छ ।
स्थानीयका अनुसार चौरसियाले पोखरिया नगरपालिका–७ मा सञ्चालन गरिएको घरदैलो कार्यक्रममा भिडभाड देखाउन बालबालिकालाई प्रयोग गरेका थिए। निर्वाचन आचारसंहिताले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग निषेध गरे पनि उक्त कार्यक्रम त्यसविपरीत देखिएको बताइएको छ ।
पेशाले निर्माण व्यवसायी रहेका चौरसियाले पैसाको बलमा रास्वपाबाट टिकट लिएर चुनावी मैदानमा प्रवेश गरेको आरोपसमेत स्थानीयमा उठेको छ । उनका स्थायी निवास पर्सा–२, वीरगञ्ज–१९ बर्वा मा भए पनि उनी पर्सा–३ बाट उम्मेदवारीमा उत्रिएका हुन् ।
यसअघि नेपाली कांग्रेसमा आबद्ध चौरसियाका आफन्तसमेत पर्ने पर्सा–२ का कांग्रेस उम्मेदवार अजय चौरसियालाई असर नपार्न आफ्नै गृह क्षेत्र छोडेर पर्सा–३ रोजेको आरोप पनि स्थानीयमा सुनिन्छ ।
स्थानीयहरूले भनेका छन् कि पर्सा–३ मा चौरसियाको उल्लेखनीय सामाजिक योगदान र रास्वपाको संगठन कमजोर भएकाले आफूलाई बलियो उम्मेदवारको रूपमा देखाउन बालबालिकाको प्रयोग गरिएको देखिन्छ। निर्वाचन आचारसंहिता विपरीत भएकोले सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । सौजन्य यात्रा डेली

