सर्लाही – सिरहाको गोलबजार नगरपालिका–३, जमदहकी करिब १६ वर्षीया किशोरी निशा बानियाँको शव अस्पतालबाटै हराएको घटनाले क्षेत्र तनावग्रस्त बनेको छ । घटनाको विरोधमा आक्रोशित आफन्त र स्थानीयवासीले हिजो (माघ ११ गते) पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार क्षेत्रमा चक्का जाम गरेका थिए ।
रमेश बानियाँकी छोरी निशा बानियाँको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उपेन्द्रप्रसाद प्रादेशिक अस्पतालमा राखिएको थियो । तर शव नै हराएको जानकारी पाएपछि दोषीमाथि कडा कारबाहीको माग गर्दै आफन्त र स्थानीय सडकमा उत्रिएका हुन् ।
गत शुक्रबार (माघ ९ गते) किशोरी आफ्नै घरमा पासो लगाएको अवस्थामा मृत फेला परेकी थिइन् । इलाका प्रहरी कार्यालय गोलबजारले घटनालाई प्रारम्भिक रूपमा आत्महत्या मानेर मुचुल्का उठाई पोष्टमार्टमका लागि लहान अस्पताल पठाएको थियो ।
मृतकका आमा–बुबा रोजगारीका सिलसिलामा भारतमा रहेकाले हिजो शव बुझ्न अस्पताल पुगेका थिए । तर अस्पतालमा शव फेला नपरेपछि घटनाले नयाँ मोड लिएको हो ।
शव हराएको घटनालाई आफन्त तथा स्थानीयले अत्यन्तै रहस्यमय भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । स्थानीयका अनुसार निशा मृत्यु हुनु अघिल्लो दिन लहानकै एक युवकको घरमा बसेकी थिइन् र उनीहरूबीच प्रेम सम्बन्ध रहेको बताइएको छ । त्यहाँबाट घर फर्किएको केही समयमै आत्महत्या भएको भनिए पनि मृतकको शरीरमा चोटपटक देखिएको दाबी गरिएको छ ।
स्थानीय आनन्द लामाले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताए । स्थानीय लामाले भने, ‘लहानबाट फर्किएपछि आत्महत्या हुनु र त्यसपछि अस्पतालबाटै शव हराउनु गम्भीर विषय हो। घटनामा कतै न कतै मिलेमत्तो देखिन्छ, निष्पक्ष छानबिन हुनुपर्छ ।’
त्यस्तै, स्थानीय शिक्षक समर भण्डारीले पोष्टमार्टम नै नभएको शव हराउनु अस्पताल र प्रहरी प्रशासनको गम्भीर लापरबाही भएको बताए। उनले यस घटनामा संलग्न सबैलाई कडा भन्दा कडा कारबाही गर्न माग गरे ।
गोलबजार नगरपालिका–३ का वडा अध्यक्ष धनप्रसाद लामाले आज बिहान १० बजेसम्म शव सहिसलामत उपलब्ध नगराइए पुनः कडा आन्दोलन गर्ने चेतावनी दिएपछि स्थानीयले अस्थायी रूपमा सडक खुलाएका थिए ।
यस विषयमा बुझ्न इलाका प्रहरी कार्यालय लहानका प्रमुखसँग सम्पर्क गर्दा फोन उठेन। अस्पताल प्रमुख डा. रञ्जित झासँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल फोन अफ रहेको थियो ।
अस्पताल पुगेका एक पत्रकारका अनुसार शव हराएको जानकारी बाहिरिएपछि डा. झा क्वाटरमै लुकेर बसेका थिए । पछि स्वास्थ्यकर्मीको आग्रहमा बाहिर आए पनि उनले शव ‘मिसप्लेस’ भएको भन्नेबाहेक अन्य कुनै स्पष्ट जवाफ दिएका छैनन् । घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कारबाहीको मागसहित स्थानीयमा आक्रोश बढ्दो छ । सौजन्य धड्कन एफ.एम.

