वीरगञ्ज । नेपाल जनता पार्टीले हिन्दुत्व र समाजसेवामा पत्रकारितामार्फत योगदान पुयाउँदै आएका सञ्चारकर्मीहरूको संस्था हिन्दु पत्रकार सङ्घका पदाधिकारी र सदस्यहरूलाई सम्मानित गरेको छ । आइतबार वीरगञ्जस्थित राणीसती अतिथि सदनमा आयोजित एक कार्यक्रमका बिच सङ्घका पदाधिकारी र सदस्यहरूलाई सम्मानित गर्दै पार्टीले सङ्घको केन्द्रीय कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने, वार्षिक नगद पुरस्कार स्थापना गर्ने र सङ्घमा आबद्ध सदस्यहरूको बिमा व्यवस्थापन गर्ने घोषणा गरेको समेत हो ।
समारोहलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता सन्तोष पटेलले सङ्घको केन्द्रीय कार्यालयका लागि १० धुर जग्गामा एक तल्ले भवन निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरे । उनले आगामी वर्षदेखि लागू हुने गरी तीन वटा नगद पुरस्कारको पनि घोषणा गरे । पुरस्कारहरूमा काशीनाथ तिवारी पुरस्कार र अनिल पटेल पुरस्कार दुवै २५ हजार रुपैयाँका रहनेछन् भने युवा क्रियाशील पत्रकारिता पुरस्कार १५ हजार रुपैयाँको हुनेछ । पुरस्कार छनोटको सम्पूर्ण अधिकार हिन्दु पत्रकार सङ्घलाई नै दिइएको छ । कार्यक्रमका विशिष्ट अतिथि तथा हिन्दु पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष राजन रौनियारले पार्टीको पहलप्रति हार्दिक आभार व्यक्त गर्दै यसलाई सङ्घको इतिहासकै ऐतिहासिक दिन भएको बताए । उनले आगामी निर्वाचनमा हिन्दुवादी शक्तिहरू व्यक्तिगत स्वार्थ त्यागेर एकजुट हुनुपर्नेमा जोड दिँदै धर्म र संस्कृतिको संरक्षणका लागि सङ्घले विभिन्न दलहरूबिच सेतुको भूमिका निर्वाह गर्न तयार रहेको धारणा राखे ।
पार्टीका पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हिन्दु पत्रकार सङ्घका केन्द्रीय सल्लाहकार तथा पदाधिकारीहरूलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरू, जिल्ला कार्यसमिति सदस्यहरू र विभिन्न विभागका प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । वक्ताहरूले सञ्चार क्षेत्र तथा धर्म–संस्कृतिको उत्थानका लागि नेपाल जनता पार्टी र हिन्दु पत्रकार सङ्घबिचको सहकार्यले नयाँ सम्भावना र सकारात्मक आयाम थप्ने विश्वास व्यक्त गरेका थिए । सौजन्य यात्रा डेली

