नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा होमनाथ दाहालको निधन भएको छ ।
केही समयदेखि घुँडासम्बन्धी समस्याबाट अस्वस्थ भई मैतीदेवीस्थित आफ्नै घरमै उपचारमा थिए ।
८४ वर्षीय दाहाललाई हृदायघात भएपछि गएराति वीर अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनी पूर्वकृषि, सहकारी तथा गरिबी निवारणमन्त्री र नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष थिए ।
ओखलढुङ्गा जिल्लाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मिएका दाहाल नेपाली कांग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकको सम्पादक थिए ।
उनले नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक)का केन्द्रीय सदस्यसमेत भएर जिम्मेवारी सम्हालेका थिए ।
उनका पार्थिव शरीर आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ। उनका श्रीमती र दुई छोरा छन् ।
उनको निधनमा शोक प्रस्ताव पारित गर्न नेपाली कांग्रेसले शनिबार बिहान ९ बजे बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । सौजन्य जनकपुर टुडे

