Loktantra Khabar National Weekly
Ad

किसानबाट ६ हजार क्विन्टल बढी धान खरिद, लक्ष्यको आधा पुरा

लोकतन्त्र खबर
२३ पुष २०८२

धनुषा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय जनकपुरधामले धनुषा र महोत्तरीका किसानबाट हालसम्म ६ हजार २७५ क्विन्टल सोना मन्सुली धान खरिद गरेको छ । गत मङ्सिर २८ गतेदेखि धान खरिद प्रक्रिया सुरु गरेको कम्पनीले अहिले दैनिक ५ देखि १५ जना किसानको धान संकलन गरिरहेको छ । हालसम्म १६५ जना किसानले स्थानीय तहको सिफारिसमा आफ्नो उत्पादन बिक्री गरिसकेका छन् ।
कम्पनीले यस वर्ष कुल १३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ, जसको करिब आधा हिस्सा संकलन भइसकेको छ । प्रतिकिसान अधिकतम ५० क्विन्टलसम्म धान खरिद गर्ने नीति भए पनि स्थानीय तहको सिफारिसमा केही किसानबाट ५५ क्विन्टलसम्म लिने गरिएको छ । धान बिक्री गर्नेहरूमा धनुषाको लक्ष्मीनिया, नगराइन र क्षिरेश्वरनाथ नगरपालिका तथा महोत्तरीको बलवा नगरपालिकाका किसानहरू बढी रहेका छन् ।

सरकारले यस वर्ष सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ रुपैयाँ ३३ पैसा तोकेको छ । किसानलाई धानको भुक्तानी सिधै उनीहरूको बैंक खातामा पठाउने व्यवस्था मिलाइएको प्रादेशिक प्रमुख निर्मल थापाले जानकारी दिएका छन् । कम्पनीको गोदाम नजिक दुईवटा काँटा राखेर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म धान संकलनको काम भइरहेको छ ।

खरिद गर्नुअघि कम्पनीले धानको गुणस्तर परीक्षण गर्ने गरेको छ । गुणस्तर शाखाकी अधिकृत सरला प्रजापतिका अनुसार मापदण्ड पुगेका गुणस्तरीय धान मात्र खरिद गरिएको छ । स्थानीय बजारमा उचित मूल्य नपाउने चिन्तामा रहेका किसानहरूका लागि सरकारी समर्थन मूल्यमा धान खरिद सुरु भएपछि राहत मिलेको छ । अझै धेरै किसानहरू धान बिक्रीका लागि नाम दर्ता गराएर पालो पर्खिरहेका छन् । सौजन्य रातोपाटी

 

प्रतिक्रिया दिनुहोस्: