लालबन्दी, २२ पुस – सर्लाहीमा आज बिहानदेखि बाक्लो मात्रामा हुस्सु, कुहिरो र शीतलहर जारी रहेकाले आवतजावतमा समस्या परिरहेको छ ।
निरन्तर शीतलहर चलेर हुस्सु, कुहिरो लागिरहँदा सर्लाहीसहित मधेश प्रदेशमा जनजीवनसँगै यातायात र हवाई क्षेत्रसमेत प्रभावित बनिरहेका छन् । सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा अझ बढी मात्रामा हुस्सु लाग्दा आवतजावत गर्न असहज भइरहेको स्थानीयले बताएका छन् ।
सदरमुकाम मलंगवासहित दक्षिणी बेल्टमा अझ बढी हुस्सु, कुहिरो लागिरहेको स्थानीय धीरज ग्वालाले जानकारी दिए । रातदिन नै यसरी हुस्सु, कुहिरो लागेर शीतलहर पर्दा न्यून आयस्रोत भएका मानिस, किसान र मजदुर बढी कठ्याङग्रिएर बस्न बाध्य रहेका उनले बताए ।
आज बिहानैदेखि पूर्वपश्चिम राजमार्ग क्षेत्रमा पनि बाक्लो हुस्सु, कुहिरो र शीतलहर छ । ईश्वरपुर नगरपालिका–५, फूलजोरका मीनप्रसाद गौतमले आज बिहानैदेखि नजिकैको दृश्यसमेत देख्न मुस्किल पर्ने गरी हुस्सु लागिरहेको जानकारी दिए ।
जिल्लाको चुरेवर्ती क्षेत्रको कालिन्जोर, परवानीपुर, पत्थरकोट, नारायणखोला,अत्रौलीलगायत भेगमा भने हुस्सु कम छ । लालबन्दी नगरपालिका–१४, नारायणखोलाका कुमार मोक्तानले हुस्सु कम लागेको तर कठ्याङग्रिदो चिसो भने रहेको बताए ।
सिन्धुलीसँग सीमा जोडिएको चुरेवर्ती भेगमा जिल्लाको अन्य भेगको भन्दा मौसम फरक हुने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख अशोक साहले पूर्वपश्चिम राजमार्गसहित अन्य सडकहरुमा बाक्लो हुस्सु लागेर भिजिबिलिट कम रहेकाले सवारी साधन सञ्चालन गर्दा वा पैदलयात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेका छन् ।
निरन्तर बाक्लो हुस्सु, कुहिरो लागेर शीतलहर पर्दा बालिनालीमा रोग कीराको प्रकोप बढेको, चौपाय र पन्छी सुरक्षित राख्न समस्या परेको, नुहाइधुवाइ गर्न नपाएको र बाहिर निस्कँदा कठ्याङग्रिने अवस्था रहेको सर्वसाधारणको गुनासो छ । सौजन्य उज्यालो अभियान

