धनुषामा मस्जिद तोडफोड र पवित्र धर्मग्रन्थ कुरान जलाइएको विरोधमा वीरगञ्जमा आइतबार भएको प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ ।
प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गरेको हो । झडपका क्रममा एक जना प्रहरी जवान सामान्य घाइते भएका छन् ।
धनुषाको कमला नगरपालिका– ६ स्थित सखुवा मरानको मुस्लिम बस्तीमा रहेको मस्जिदमा शनिबार अज्ञात समूहले तोडफोड गरी कुरान जलाएको घटना सार्वजनिक भएपछि मुस्लिम समुदाय आक्रोशित बनेको हो ।
आइतबार बिहानैदेखि वीरगञ्जका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरिएपछि जनजीवन प्रभावित बनेको थियो। छपकैया इदगाह चोकमा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रदर्शनमा सहभागी छपकैया मदरसाका मौलाना असगर मदनीले यो घटनालाई नेपालको परापूर्वकालदेखिको धार्मिक सद्भाव र सहिष्णुता बिथोल्ने नियतले गरिएको जघन्य अपराधको संज्ञा दिएका छन् । उनले मस्जिदजस्तो पवित्र स्थलमा प्रवेश गरी धार्मिक ग्रन्थ जलाउने दोषीहरूलाई सरकारले तत्काल कानुनी दायरामा नल्याए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन् ।
हाल वीरगञ्जका संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ र स्थिति सामान्य बनाउने प्रयास भइरहेको स्थानीय प्रशासनले जनाएको छ । सौजन्य जनकपुर टुडे

