वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित जगदम्बा स्टील्स लिमिटेडमा कार्यरत मजदुरहरूले आर्थिक वर्ष २०८०/०८१ को सम्झौताअनुसार पाउनुपर्ने बोनस हालसम्म नपाएको भन्दै गम्भीर असन्तोष जनाएका छन् ।
नेपाल औद्योगिक मजदुर सङ्घसँग आबद्ध जगदम्बा स्टील्स मजदुर युनियनले सिमरामा पत्रकार सम्मेलन गरी उद्योग व्यवस्थापनको गैरजिम्मेवार रवैयाका कारण श्रमिकहरू समस्यामा परेको जनाएको हो ।
युनियनका अनुसार बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२ मा सञ्चालित उद्योगमा कार्यरत श्रमिकहरूले सम्झौताअनुसार पाउनुपर्ने बोनस समयमै नपाउँदा यस वर्ष दसैँ–तिहारजस्ता महत्त्वपूर्ण चाडपर्वसमेत सहज रूपमा मनाउन नपरेको अवस्था सिर्जना भएको छ । बोनस वितरणका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि उद्योग व्यवस्थापनले बेवास्ता गरेको युनियनको आरोप छ ।
युनियनले उद्योग व्यवस्थापन करिब तीन महिनादेखि उद्योगमै अनुपस्थित रहँदै आएको जनाएको छ । व्यवस्थापनको यस्तो उदासीनताले उद्योगमा श्रम ऐन तथा नियमावली विपरीत गतिविधि बढ्दै गएको र नियमित सञ्चालनमा समेत असर परेको उनीहरूको भनाइ छ । साथै ठेकेदारमार्फत काम गरिरहेका श्रमिकलाई न्यूनतम पारिश्रमिक नदिइएको, सामाजिक सुरक्षा कोषमा श्रमिकबाट कट्टा गरिएको रकम बराबर कम्पनीले थप गर्नुपर्ने २० प्रतिशत योगदानसमेत नगरेको आरोप लगाइएको छ ।
पत्रकार सम्मेलनमा उद्योगमा व्यवसायजन्य सुरक्षा व्यवस्थाको अभावका कारण श्रमिकहरू काम गर्ने क्रममा दुर्घटनामा परेर ज्यान गुमाउनुपर्ने अवस्था आएको दाबीसमेत गरिएको छ । युनियनले समस्याको समाधानका लागि उद्योग व्यवस्थापनलाई तत्काल संवादमा आउन र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
युनियनका अध्यक्ष दीपक कार्कीले मजदुरका जायज मागहरू तत्काल पूरा नगरे पुस १० गतेसम्म उद्योगको सम्पूर्ण कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् । उनले माग पूरा नभए त्यसबाट उत्पन्न हुने असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी उद्योग व्यवस्थापनले नै लिनुपर्ने बताए ।
पत्रकार सम्मेलनमा उपस्थित जितपुरसिमरा उपमहानगर क्षेत्रका नेकपा एमाले, नेपाली काँग्रेस, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका नगर स्तरीय नेताहरूले मजदुरका मागप्रति एकबद्धता जनाउँदै आ–आफ्नो पार्टीको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । सौजन्य यात्रा डेली

