वीरगञ्ज । बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दु युवा दीपु चन्द्र दासको निर्मम हत्या गरिएको घटनाको विरोधमा राष्ट्रिय एकता अभियानले काठमाडौँस्थित बङ्गलादेशी राजदूतावास घेराउ गर्दै विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनकारीहरूले “अल्पसङ्ख्यकको सुरक्षा ग्यारेन्टी गर”, “मानवअधिकारको सुरक्षा गर”, “हिन्दुको हत्या बन्द गर” जस्ता नारा लगाउँदै बङ्गलादेश सरकारको कडा आलोचना गरेका छन् । साथै “मोहम्मद युनुस सरकार मुर्दावाद”, “बङ्गलादेश मुर्दावाद”, “बङ्गलादेश दूतावास खारेज गर” जस्ता नारासमेत घन्काएका थिए ।
प्रदर्शनलाई सम्बोधन गर्दै समाजसेवी माधव सिंहले बङ्गलादेशमा हिन्दु तथा अन्य अल्पसङ्ख्यकमाथि बढ्दो हिंसा गम्भीर मानवअधिकार उल्लङ्घन भएको बताए । उनले भने, “धर्म र पहिचानका आधारमा निर्दोष नागरिकको हत्या हुनु सभ्य समाजका लागि लज्जास्पद कुरा हो । अन्तर्राष्ट्रिय समुदायले अब मौन बस्न मिल्दैन ।”
त्यसैगरी, राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बङ्गलादेश सरकार अल्पसङ्ख्यकको सुरक्षामा पूर्ण रूपमा असफल भएको आरोप लगाए । उनले भने, “हिन्दु समुदायमाथि लक्षित हिंसा राज्यकै कमजोरी र संरक्षणबिना सम्भव हुँदैन । यदि तत्काल अल्पसङ्ख्यकको सुरक्षा सुनिश्चित गरिएन भने अन्तर्राष्ट्रिय स्तरमा दबाब सिर्जना गरिनुपर्छ ।” यादवले नेपाल सरकारलाई पनि कूटनीतिक माध्यमबाट बङ्गलादेश सरकारसमक्ष कडा आपत्ति जनाउन आग्रह गरे ।
प्रदर्शन शान्तिपूर्ण भए पनि वातावरण तनावपूर्ण बनेको थियो । प्रदर्शनकारीहरूले बङ्गलादेश सरकार प्रमुख मोहम्मद यूनुसको तस्बिर जलाएका थिए । बङ्गलादेशमा हिन्दहरूमाथि भइरहेको हिंसा तुरुन्त रोक्न, दोषीलाई कडा कारबाही गर्न र अल्पसङ्ख्यक समुदायको सुरक्षाको ठोस ग्यारेन्टी गर्न माग गरेका छन् ।
राष्ट्रिय एकता अभियानले यस्ता अमानवीय घटनाविरुद्ध निरन्तर आवाज उठाउने र आवश्यक परे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ । सौजन्य यात्रा डेली

