गोडैत, ०५ पुस – काटेर चिनी मिललाई बिक्री गर्ने ठिक्क बेला भएको उखु आगलागीबाट जलेपछि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवाका किसानले राहत माग गर्न थालेका छन् ।
गत सोमबार दिउँसो एक्कासी भिषण रुपमा आगलागी फैलँदा रोहुवा गाउँमा लगाइएको ५० बिघा बढीको उखु जलेको थियो । आगलागीबाट जलेको उखु खेतीको निरीक्षण गर्न अहिले मन्त्री, सांसद, जनप्रतिनिधि र विभिन्न राजनीतिक दलका नेताहरुलाई भ्याइनभ्याइ नै परेको छ ।
जलेको उखु खेतीको निरीक्षण गर्न आउनेहरुसँग किसानले राहतको माग गरेका हुन् । उखु किसान एवं गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले मुल्य घटाएर भए पनि जलेको उखु किनिदिन चिनी मिलहरुसँग निरन्तर आग्रह गरिरहेको बताए ।
आगलागीबाट जले पनि उखुमा अझै चिनीको केही मात्रा बाँकी रहेकाले बरु कम मुल्य दिएर भए पनि उखु किनिदिन इन्दुशङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदहलाई अनुरोध गरिरहेको अगुवा उखु किसान यादवले बताए । इन्दुशङ्कर चिनी उद्योगले रोहुवा क्षेत्र महालक्ष्मी चिनी उद्योगको मिलगेटभित्र पर्ने भएकाले सोही उद्योगसँग सम्पर्क राख्न किसानसँग आग्रह गरेको छ ।
यो वर्षका लागि उखु क्रसिङ सुरु गर्न धमाधम चलान (उखु ल्याउने अनुमति पत्र) बाँडिरहेको महालक्ष्मीलाई आगलागीबाट जलेको उखुको मुल्याङ्कलन गरी किनिदिन अनुरोध गरिरहेको नगरप्रमुख यादवको भनाइ छ । उनले अब यही पुसमा हुने विशेष नगर सभाबाट पीडित किसानलाई केही राहत प्रदान गर्ने सोँच रहेकोसमेत बताए ।
मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले बिहीबार दिउँसो आगलागी भएको उखु खेतीको निरीक्षण गर्दै चिनी मिलले पीडित किसानलाई केही रकम दिएर उखु खरिद गरिदिए संघीय सरकारले निर्धारण गरेको उखुको समर्थन मुल्यमा बाँकी हुने पैसा प्रदेश सरकारबाट प्रदान गर्ने आश्वासन दिएका छन् । प्रदेश सरकारका स्वास्थ्यमन्त्री जङ्गीलाल राय, प्रदेश सभा सदस्य वीरेन्द्रप्रसाद सिंह, फकिरा महतोसहितलाई लिएर आगलागी भएको उखु खेतीको निरीक्षण गर्न पुग्नुभएका मुख्यमन्त्री यादवले पीडित किसानलाई मार पर्न नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
ठुलो क्षेत्रफलको उखु खेतीमा आगलागी हुनुको कारण अझै प्रष्ट हुन सकेको छैन् । सुरुमा बिजुलीको तारबाट करेन्ट सर्ट भएर आगलागी भएको आशङ्का गरिएको थियो तर नेपाल विद्युत् प्राधिकरणको मलङ्गवा वितरण केन्द्रले घटनास्थलमा रहेको विद्युतीय संरचनाको प्राविधिक विश्लेषण, घटनाको प्रकृति तथा स्थानीय प्रत्यक्षदर्शीको भनाई विश्लेषण गर्दा विद्युतको तार सर्ट नभएको दावी गरेको छ ।
घटना भएको पाँच दिन बितिसक्दा पनि प्रहरीले आगलागीबाट कति क्षेत्रफलको उखु खेतमा क्षति पुग्यो भन्ने एकिन विवरण सङ्कलन गरेको छैन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले आगलागीको वास्तविक विवरण सङ्कलन गर्नै बाँकी रहेको उज्यालो अभियानसँग बताए । सौजन्य उज्यालो अभियान

