परवानीपुर, २३ मंसिर – चुरेभेगको विकट क्षेत्रमा पर्ने सर्लाहीको लालबन्दी नगरपालिका–१५, ढापखर्क शिरका स्थानीयले गाउँमा आइपुगेका विद्युत प्राधिकरणका कर्मचारीसँग बिजुली माग गरेका छन् ।
ढापखर्क शिरका २५÷३० घरधुरीमा बिजुली बत्ती पुग्न बाँकी रहेको छ । उक्त स्थानमा ‘फिल्ड भिजिट’ गर्दै पुगेको नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रको टोलीलाई स्थानीयले खादासहित स्वागत गर्दै आफूहरुको ठाउँसम्म पनि बिजुली ल्याइदिन माग गरेका हुन् ।
लालबन्दी १५ स्थित शिर कालिन्जोर क्षेत्रमा भेला भएका स्थानीयले लालबन्दी वितरण केन्द्रका प्रमुख सुरज ढुंगेल, इन्जिनियर अरुणकुमार यादवलगायतलाई खादा ओढाएर गाउँमा स्वागत गर्दै बिजुली नहुँदाको पीडा व्यक्त गरेका छन् । लालबन्दी १५ सहित सर्लाहीको चुरेवर्ती क्षेत्रमा बिजुली पुग्न बाँकी रहेको बस्तीमा विद्युतीकरणका लागि बजेट विनियोजन गरिदिन माग गर्दै लालबन्दी वितरण केन्द्रले गत वर्ष नै केन्द्रीय कार्यालयमा फाइल पठाइसकेको छ ।
लालबन्दी वितरण केन्द्र प्रमुखको रुपमा भर्खरै सरुवा भएर आएका ढुंगेलले आफू अब काठमाडौं पुगेर ढापखर्कसहित अन्य बस्तीहरुमा विद्युतीकरणका लागि पहल गर्ने उज्यालो अभियानसँग बताए । लालबन्दी १५ का स्थानीय विवेक बम्जनले शिर कालिन्जोरसहित आसपासका क्षेत्रमा बिजुली पुगे पनि ढापखर्क क्षेत्र अन्धकारमै रहेको जानकारी दिए ।
बिजुली नहुँदा स्थानीयलाई मोवाइल चार्ज गर्नसमेत घण्टौँ धाएर शिर कालिन्जोरसम्म आउनुपर्ने बाध्यता छ ।
लालबन्दी १४ र १५ को दुर्गम बस्तीहरुमा बिजुली पुर्याइदिन माग गर्दै केही साताअघि लालबन्दी १५ का वडाध्यक्ष गोरखबहादुर बलसहितका जनप्रतिनिधि र अगुवाले उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङलाई भेटेर ध्यानाकर्षण गराएका थिए । सौजन्य उज्यालो अभियान

