बखतियार अलि–
सर्लाही २० मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले १५ औं महाधिवेशनको सभापति पदको उम्मेदवार आफु रहेको बताउनु भएको छ । शनिवार सर्लाहीको सदरमुकाम मलंगवामा प्रेस युनियन सर्लाही शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री थापाले यो कुरा बताउनु भएको हो ।
आफनै नेतृत्वमा पार्टीलाई पुनर्गठित गरि देश र मधेशको भावना समेटर चुनावमा जाने वहाले बताउनुभयो ।
यसो हुन सके जेनजी आन्दोलनको भावना समेत सम्बोधन हुने र कांग्रेसलाई जनताले पनि विश्वास गर्ने उनको भनाइ छ । विगतमा भएको कमि–कमजोरीलाई हटाउदै ‘यो अधिवेशन गरेर गयौं भने नेपाली कांग्रेसको कुरामा प्रष्टता देखिन्छ । हामीले पार्टीमा सुधारको संकल्प लिएका छौं ।
हामी नयाँ भएर आएका छौं । हामीले नयाँ सुरुवात गर्ने एउटा बाचा गरेर आएको संदेश जनतामा जाने गरि १५ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने नेता थापाको भनाई छ ।
वर्तमान संविधानमा मधेशी दलित, आदिवासी, जनजाती, अल्पसंख्यक समुदायको हकअधिकारलाई लिपिवद्ध गरिएपनि यो अधिकार प्राप्तीका लागि केहि चुक भएकोले यसको सुधारका लागि पहल हुनुपर्ने थापाको भनाई थियो ।
संघियता समानुपातिक समावेशिता, सहभागिता नेपालको हितमा रहेको नेता थापाले बताए ।
तर जुन तरिकाले यसको अभियास हुनुपर्ने थियो त्यो भएन । यसको लागि नेपाली कांग्रेसले पहल गर्नुपर्ने समय आएको उनको भनाई थियो । नेपाली कांग्रेसले पहिला आफुलाई सम्भाल्नु पर्छ त्यस पछि देशलाई सम्भाल्न सके जनतामा एउटा राम्रो संदेश जानेछ ।
आउने चुनाब पनि पार्टीको लागि फलदायी हुने थापाको भनाई रहेको छ । ‘त्यसपछि बल्ल नागरिकसँग सम्वादको नयाँ ढोका खुल्छ ।
त्यसपछि बल्ल हामीसँग रिसाएका नागरिकहरुले फेरि एकपटक तिमीलाई मौका दिन्छौं भनेर हामीसँग आउने अवस्था आउँछ । त्यसकारणले अधिवेशन चाहिएको हो,’ थापाले भने । यसै सन्दर्भमा महामन्त्री थापाले भदौ २३ गतेभन्दा अगाडि र पछाडिको परिस्थितिमा धेरै उथलपुथल भइसकेको भन्दै नयाँ परिस्थितिमा नयाँ कांग्रेस लिएर जनतामा जानुपर्ने भएकाले चुनाव अघि जसरी पनि महाधिवेशन हुनैपर्ने बताए ।
कांग्रेस भन्दावित्तिकै धेरैको दिमागमा सत्ता, शक्ति मात्र स्मरणमा आउने भन्दै त्योसँगै कांग्रेसले गरेका सुधारबारे बताउनुपर्ने र कांग्रेससँग भएका गुनासा पनि सम्बोधन गर्नुपर्ने आवश्यक रहेकोमा उनले जोड दिए ।
प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण थपलियाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मधेश प्रदेश उपसभापति वीरेन्द्र प्रसाद सिंह,सर्लाहीका कार्यवाहक सभापति डा. सरोज कुमार, निवर्तमान सभापति सुरेन्द्र प्रसाद सिंह, पुर्व केन्द्रिय सदस्य तथा पुर्व मन्त्री शम्भुलाला श्रेष्ठ लगायत नेपाली कांग्रेस पार्टीका नेता कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

