Loktantra Khabar National Weekly
Ad

गृहमन्त्री अर्यालको राजीनामा माग्दै जेन–जी अगुवा सुदन गुरुङले दिए निर्णायक आन्दोलन गर्ने चेतावनी

लोकतन्त्र खबर
५ मंसिर २०८२

वीरगञ्ज । बाराको सिमरामा जेन–जी युवाहरूले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा नेकपा एमाले निकट समूहले प्रवेश गरी कुटपिट गरेको घटनाले देशव्यापी तरङ्ग पैदा गरेको छ । घटनापछि ‘हामी नेपाल’ अभियानका संस्थापक तथा जेन–जी आन्दोलनका प्रमुख अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग गर्दै ‘मलाई पनि पक्राउ गर’ राष्ट्रिय अभियान चलाउने कडा चेतावनी दिएका छन् । बुधवार जेन–जी समूहका बारा जिल्ला संयोजक सम्राट् उपाध्यायको नेतृत्वमा शान्तिपूर्ण कार्यक्रम भइरहेका बेला एमाले निकट समूहले जेन–जी युवाहरूमाथि अपमानजनक व्यवहार र कुटपिट गरेको गुरुङले आरोप लगाएका छन् । युवाहरूमाथि एमाले नेताले भौतिक आक्रमण गरेपछि युवाहरू विमानस्थल तर्फ अगाडि बढ्दा स्थिति तनावग्रस्त बनेको थियो । युवाहरूले विमानस्थलको मूल ढोकामा तोडफोड गर्नुका साथै ढुंगामुढासमेत प्रहार गरेका थिए । स्थिति नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो । प्रदर्शनका कारण काठमाडौँबाट उडिसकेको विमानलाई पुनः फर्काइएको थियो । सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै गुरुङले गृहमन्त्री अर्यालमाथि गम्भीर आरोप लगाएका छन् । उनले लेखेका छन्, “गृहमन्त्रीको ढिलासुस्ती र लाचारीपनले नै यस्तो घटना भएको हो । यदि गृहमन्त्रीले भ्रष्टाचारी र हत्याराहरूलाई समात्न सक्दैनन्, देश परिवर्तनका लागि लड्ने योद्धामाथि कुटपिट हुँदा कानमा तेल हालेर बस्छन् र उल्टै देश प्रेमी युवाहरूलाई पक्राउ गर्छन् भने म ‘मलाई पनि पक्राउ गर’ राष्ट्रिय अभियान चलाउँछु । हत्याराहरूले खुलेआम चुनौती दिँदै हिँड्ने र सरकार टुलुटुलु हेरेर बस्ने हो भने यो ज्वालामुखी ठूलो रूपमा विस्फोट हुनेछ। हेक्का रहोस् ।” गुरुङले सरकारले ‘सानालाई ऐन, ठुलालाई चैन’ को नीति अपनाएको भन्दै आक्रोश पोखेका छन् । “आफूलाई संविधानविद् भन्ने गृहमन्त्रीज्यू, संविधानको कुन धारामा ‘सानालाई ऐन, ठुलालाई चैन’ लेखिएको छ ? विधिको शासन लागू नहुने हो भने पुरानो शासन र अहिलेको शासनमा के फरक रह्यो ?,” भन्दै उनले प्रश्न गरेका छन् । उनले दुर्गा प्रसाईँलाई अभिव्यक्ति कै आधारमा पक्राउ गर्ने सरकारले युवाहरूको टाउकोमा ताकेर गोली हान्नेहरूलाई भने किन नसमातेको भन्दै प्रश्न गरेका छन् । शक्तिशाली व्यक्तिहरूले गृहमन्त्रीलाई ‘लोप्पा खुवाउँदै हिँडेको’ र त्यो लोप्पा स्वीकार गरेर कुर्सीमा टाँसिएर बस्न गृहमन्त्रीलाई कति सुहाएको छ भन्दै उनले व्यङ्ग्य गरेका छन् । “हाम्रा दाजुभाइहरूलाई छोएर कसैलाई खेल्न दिइने छैन । हाम्रो मौनतालाई कमजोरी नठानियोस् । यदि सरकार संयमित भएन भने भोलिदेखि निर्णायक आन्दोलनको तयारी गरेका छौँ,” चेतावनी दिँदै उनले भनेका छन् । उनले मृतक तथा घाइते युवाहरूको न्याय, सत्य छानबिन र सबै नागरिकलाई समान न्यायको प्रत्याभूति नभएसम्म कुनै पनि निर्वाचन सम्भव नहुने स्पष्ट पारेका छन् । “न्याय सुनिश्चित नभई जनताको विश्वास फर्किँदैन, विश्वास बिना लोकतान्त्रिक निर्वाचनको वातावरण बन्दैन,” गुरुङले लेखेका छन् । बारा घटनापछि जेन–जी युवाहरूमा आक्रोश बढ्दै गएको छ भने देशभरका युवाहरूले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध ऐक्यबद्धता जनाइरहेका छन् । अबको केही दिनभित्रै ठूलो आन्दोलनको सम्भावना देखिएको विश्लेषकहरूले बताएका छन् । सौजन्य यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: