Loktantra Khabar National Weekly
Ad

कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु

लोकतन्त्र खबर
२६ आश्विन २०८२

काठमाडौं, २६ असोज । इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल–शेख नजिक आइतबार भएको कार दुर्घटनामा तीन कतारी कूटनीतिज्ञको मृत्यु भएको छ । दुर्घटनामा थप दुई घाइते भएका छन्।
सुरक्षा सूत्रका अनुसार, ती कूटनीतिज्ञको कार शहरबाट करिब ५० किलोमिटर टाढा एक मोडमा पल्टिएको थियो। यो दुर्घटना सोमबार इजिप्टमा आयोजना हुँदै गरेको गाजा शान्ति योजनाका अन्तिम वार्ताका एक दिनअघिको घटना हो।
तर अहिलेसम्म मृत कूटनीतिज्ञहरू कतारको ती वार्ता टोलीको सदस्य रहेको बारे केही स्पष्ट भएको छैन । कतारी कुटनीतिज्ञहरूको एक टोली अहिले इजिप्टका अधिकारीहरूसँग मिलेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा योजनाको पहिलो चरणका लागि वार्तामा छ ।
शिखर सम्मेलनको सह–अध्यक्षता इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसि र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नेछन्। शनिबार जारी विज्ञप्ति अनुसार, यस सम्मेलनमा २० भन्दा बढी देशका नेताहरू सहभागी हुनेछन्।
सम्मेलनको उद्देश्य गाजामा युद्ध अन्त्य गराउन, मध्यपूर्वमा शान्ति र स्थिरता प्रवद्र्धन गर्न र क्षेत्रीय सुरक्षा सुनिश्चित गर्नु हो।
हमासले भने इजिप्टमा हुने गाजा शान्ति सम्झौताको औपचारिक हस्ताक्षर समारोहमा सहभागी नहुने बताएको छ । हमासका एक वरिष्ठ नेताले ट्रम्पको योजनाका केही पक्षप्रति असहमति व्यक्त गरेका छन्।
टाइम्स अफ इजरायलमा आएको रिपोर्ट अनुसार, हमास नेताहरूले आफ्ना सदस्यहरूलाई गाजा छोड्न प्रस्ताव गर्नु ‘वाहियात’ भएको भन्दै खारेज गरेका छन्।
ट्रम्पले बुधबार इजरायल र हमासले उनकी २०– बुँदे योजनाको पहिलो चरणमा सहमति जनाएका बताएका छन् । यस योजनाको उद्देश्य गाजामा युद्धविराम कायम गराउनु, सबै इजरायली बन्धकहरूको रिहाइका बदला करिब २,००० प्यालेस्टिनी कैदीहरूको रिहाइ र इजरायली सेनाहरूको क्रमशः फिर्ता पुष्टि गर्नु हो।
पहिलो चरण स्थानीय समयअनुसार, शुक्रबार अपराह्न सवा १२ बजेबाट लागू भएको थियो।
योजनाको दोस्रो चरणमा गाजामा नयाँ शासन व्यवस्था स्थापना गर्नु, प्यालेस्टिनी कर्मचारी र अरब–इस्लामिक देशका सैनिकहरू मिलेर एक सुरक्षा बल गठन गर्नु र हमासको निशस्त्रीकरण सुनिश्चित गर्नु हुने बताइएको छ । सौजन्य अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्: