Loktantra Khabar National Weekly
Ad

‘दयारानी’ ले कमायो २ करोड ५० लाख

लोकतन्त्र खबर
९ फाल्गुन २०८०

माओत्से गुरुङ लिखित तथा निर्देशित फिल्म ‘दयारानी’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ।

माघ २६ गतेदेखि प्रदर्शन भइरहेको फिल्मले सोमबारसम्म २ करोड ५० लाख कमाएको हो। मंगलबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

फिल्मले राम्रो कमाइ गरेपछि निर्देशक गुरुङले खुशी व्यक्त गरेका छन्।

‘यो फिल्मले राम्रो कमाइ गर्दा खुशी नहुने भन्ने कुरै हुँदैन। किनभने यो मैले आश मारेको फिल्म हो। वितरक प्रचण्डमान श्रेष्ठले रिलिज गर्नुपर्छ नभनेको भए सायद यो फिल्म रिलिज हुने थिएन होला! दयारानीले मैले सोचेको भन्दा राम्रो कमाइ गरिरहेको छ,’ उनले भने।

उनका अनुसार फिल्मले काठमाडौंभन्दा बाहिर फिल्मले राम्रो कमाइ गरेको हो।

‘अहिले काठमाडौंमा बिस्तारै फिल्म चल्न थालेको छ। गुरुङ समाजका व्यक्तिहरू फिल्म हेरिरहेको जानकारी पाएको छु। तर विशेषगरी प्रदर्शनको हिसाबले हेर्ने हो भने पोखरा, बुटुवल, चितवन र पूर्वतिरका हलमा दर्शकको राम्रो उपस्थिति छ,’ उनले भने।

यो फिल्मले प्रदर्शनको दोस्रो हप्ता पनि राम्रो शो पाएको छ। बाँसुरी फिल्म्स र माओत्से फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, दीया पुन, विजय बराल, नयन गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, र्शिषा कुँवर, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ, क्रिष्टी गुरुङलगायत कलाकारको अभिनय छ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन्। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: