Loktantra Khabar National Weekly
Ad

३ लाख बालिकालाई एचपीभी खोप दिइँदै, क–कसले पाउँछन् ?

लोकतन्त्र खबर
२३ माघ २०८२

काठमाडौं ,२२ माघ । सरकारले देशभरका ३ लाख बालिकालाई आगामी आइतबारदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप दिने भएको छ । परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार कक्षा ६ मा पढ्ने र १० वर्षका बालिकालाई लक्षित गरी खोप कार्यक्रम अघि बढाइएको हो । चपीभी खोप नियमित कार्यक्रममा समावेश गरेको छ । ‘यसअघि अभियानका रूपमा सञ्चालन गरेका थियौं । अहिले नियमित कार्यक्रममा समावेश भएको छ,’ डा. गौतमले भने, ‘१० वर्ष पूरा भएका र ६ कक्षामा अध्ययनरत बालिकालाई एचपीभी खोप दिन्छौं ।’ गत वर्ष सरकारले अभियानको रूपमा कक्षा ६ देखि १० सम्मका छात्रासहित विद्यालय नजाने भए १० देखि १४ वर्ष उमेर समूहका किशोरीसमेत गरी १६ लाख किशोरीलाई खोप दिएको थियो । जसमध्ये ९४ प्रतिशतले खोप लगाएका थिए । एचभीपी खोप कार्यक्रम भने विद्यालय र स्वास्थ्य संस्था केन्द्रित हुनेछ । ‘विद्यालयमा नै खोप केन्द्र स्थापना गर्नेछौं । यसले गर्दा खोप वितरण प्रक्रिया सहज र प्रभावकारी हुनेछ,’ डा. गौतमले भने ।

डाक्टरका अनुसार नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको क्यान्सर एक हो । पाठेघरको मुखको क्यान्सर हुने मुख्य भूमिका ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को कारण हुन्छ । एचपीभी भाइरस सरुवा भएकाले सजिलै फैलिन्छ । यो मुख्यतः छालाको सम्पर्कबाट सर्छ । ह्युमन प्यापिलोमा भाइरस २०० भन्दा धेरै प्रजातिका हुन्छन् । तर मानव शरीरमा क्यान्सर गराउने प्रजाति १२ प्रकारका हुन्छन् । तीमध्ये ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट हुने गरेको छ । हरेक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान छ । जसमध्ये १ हजार ३१३ जनाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ । चिकित्सकका अनुसार पाठेघरको मुखको क्यान्सर हुँदा योनीबाट गन्हाउने पानी आउने, रगत मिसिएको पानी आउने, पेट दुख्ने, महिनावारी सुकिसकेका महिलालाई समेत रगत देखिने, यौनसम्पर्क गरेपछि रगत देखिने जस्ता लक्षण देखिन्छन् । सौजन्य अनलाइनखबर

 

प्रतिक्रिया दिनुहोस्: