Loktantra Khabar National Weekly
Ad

एक सातामा प्रतिलिटर ४० रुपैयाँले बढ्यो खानेतेल

लोकतन्त्र खबर
१७ माघ २०८२

वीरगञ्ज । खानेतेल (भटमास र सूर्यमुखी) को भाउ अस्वाभाविक रूपमा बढेको छ। नेपाल खुद्रा व्यापार संघका अनुसार एक सातामा प्रतिलिटर ४० रुपैयाँसम्म बढेको हो । शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, माघको पहिलो सातासम्म प्रतिलिटर २४० रुपियाँ खुद्रामा बिक्री भइरहेको खानेतेल अहिले प्रतिलिटर २८५ देखि २९० रुपियाँसम्म पुगेको छ । संघका कोषाध्यक्ष वसन्त महर्जनले खानेतेलको भाउ अस्वाभाविक रूपमा बढेकाले कारोबार गर्न नै समस्या रहेको गुनासो गरे। ससानो पुँजी लगानी गरेर आमउपोक्ताको घरछेउसम्म सेवा दिने हामी व्यवसायीले दिनदिनै भाउ बढ्यो भनेर उपभोक्तासँग कसरी कारोबार गर्ने?’ उनले प्रतिप्रश्न गरे ।

संघका वरिष्ठ उपाध्यक्ष नरेश खड्गीले अस्वाभाविक रूपमा दिनैपिच्छे भाउ बढ्दा व्यवसायी दोहोरो मारमा परेको बताए । ‘खुद्रा व्यापारीले थोकमा किन्दा बढेको भाउ तिरेर ल्याउनु पर्छ, यता उपभोक्ता महँगो भयो भनेर गुनासो गर्छन् अनि अर्कातिर सरकारी नियमनकारी निकायले हाम्रै पसलमा अनुगमन गरेर कारबाही गर्छ’, उनले भने । नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले नेपालमा तेल उत्पादन उद्योगले नेपालका लागि उत्पादन गरेको तेल भारतमा पठाउन थालेपछि भाउ बढेको बताए। उनको अनुभवमा जब भारतमा खानेतेल महँगो भयो, तब नेपालका तेल उत्पादक उद्योगीले भटाभट भारतमा निर्यात गर्न थाले।

खुला बजार अर्थतन्त्रमा तेलको सीमित उत्पादन भइरहेको अवस्थामा माग बढेपछि मूल्य बढ्नुलाई अस्वाभाविक मान्न नहुने तर्क थोक व्यापारी श्रेष्ठको छ । नेपालका खानेतेल उत्पादक उद्योगीले अमेरिकी डलरको भाउ बढ्दा कच्चा पदार्थको भाउ बढेको र जसका कारणले खानेतेलको भाउ बढेको स्वीकार गरेका छन्। कच्चा पदार्थको भाउ नै बढेपछि तेलको भाउ बढ्नुलाई अस्वाभाविक रूपमा लिन नमिल्ने तर्क उद्योगीले गरेका छन् । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को छ महिनामा नेपालबाट ६० अर्ब रुपैयाँ बराबरको भटमास र सूर्यमुखी तेल निर्यात भएको छ। नेपालमा पर्याप्त तेल उत्पादन हुँदाहुँदै पनि उद्योगीले तेल भारत निर्यात गरेको हुँदा महँगीको मारमा नेपाली उपभोक्ता परेको अधिकारकर्मी बताउँछन् । सौजन्य यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: