वीरगञ्ज । रेबिज रोगको नियन्त्रण तथा न्यूनीकरण गर्ने उद्देश्यले बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले निःशुल्क रेबिज खोप शिविर सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकाको पशुपन्छी विकास शाखाको आयोजनामा बारा जिल्लाभित्रका विभिन्न वडामा चरणबद्ध रूपमा उक्त खोप शिविर सञ्चालन गरिने जनाइएको छ ।
पशुपन्छी विकास शाखाका प्रमुख डा. सुवास झाले उपमहानगर क्षेत्रभित्र रहेका घरपालुवा कुकुर तथा बिरालालाई निःशुल्क रूपमा रेबिजविरुद्धको खोप उपलब्ध गराइने जानकारी दिए । उनका अनुसार रेबिजजस्तो घातक रोगबाट मानव तथा पशु दुवैको स्वास्थ्य सुरक्षा गर्न अभियान अत्यन्त महत्त्वपूर्ण रहनेछ ।
जारी गरिएको कार्य तालिकाअनुसार वडा नं. १ पथलैयामा माघ १२ गते खोप शिविर सञ्चालन गरिनेछ। त्यसैगरी वडा नं. २१ र २२ मा माघ १३ गते, वडा नं. १८ मा माघ १४ गते, वडा नं. १७ मा माघ १५ गते, वडा नं. १६ मा माघ १९ गते, वडा नं. १९ र २० मा माघ २० गते, वडा नं. १५ मा माघ २१ गते, वडा नं. १४ मा माघ २२ गते तथा वडा नं. ४ मा माघ २३ गते निःशुल्क रेबिज खोप शिविर सञ्चालन हुने सूचनामा उल्लेख छ ।
अधिकांश वडामा खोप शिविर वडा कार्यालय परिसरमै सञ्चालन गरिने जनाइएको छ । पशुपन्छी विकास शाखाले सम्बन्धित सबै वडावासीलाई आफ्ना घरपालुवा कुकुर तथा बिरालालाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा ल्याई खोप लगाउन आग्रह गरेको छ ।
अभियानबाट रेबिज रोगको जोखिम न्यूनीकरण हुनुका साथै समग्र जनस्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको उपमहानगरपालिकाले जनाएको छ । सौजन्य यात्रा डेली

