Loktantra Khabar National Weekly
Ad

विकास गोयलद्वारा सञ्चालित वीरगञ्जस्थित एसबी ट्रेडिङमा प्रहरीको छापा, २५ लाख भन्दाबढीको सामग्री जफत

लोकतन्त्र खबर
१२ माघ २०८२

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ स्थित रेल्वे रोडमा रहेको एसबी ट्रेडिङको गोदाममा प्रहरीले छापा मारेर करिब २५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको विभिन्न सामान बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले विकास गोयल सञ्चालक रहेको एसबी ट्रेडिङको गोदाममा छापा मारी बिलबिजक शङ्कास्पद देखिएका सामान जफत गरेको हो ।

गोदामबाट बेलुन, ब्याण्डेज, तास, पेन्सिल, रबर, गुच्चा, इरेजर, लाइटर लगायतका सामान दुई ट्रक परिमाणमा बरामद गरिएको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुबेदीले जानकारी दिए ।

उनका अनुसार बरामद गरिएका सामानको बजार मूल्य अन्दाजी २५ लाख रुपैयाँभन्दा बढी रहेको अनुमान गरिएको छ । राजश्व छलेर भित्र्याइएका सामान ठुलो परिमाणमा भण्डारण गरिएको सूचनाको आधारमा प्रहरी टोलीले गोदाममा खानतलासी गरेको थियो । त्यस क्रममा आवश्यक बिलबिजक शङ्कास्पद देखिएपछि सामान जफत गरिएको प्रहरीको दाबी छ ।

बरामद गरिएका सम्पूर्ण सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ । सौजन्य यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: