Loktantra Khabar National Weekly
Ad

नारायणी अस्पताल वीरगञ्जमा पहिलोपटक लेप्रोस्कोपिक विधिबाट जटिल स्त्रीरोग शल्यक्रिया सफल

लोकतन्त्र खबर
२६ पुष २०८२

वीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जले स्वास्थ्य सेवाको क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। अस्पतालमा पहिलोपटक लेप्रोस्कोपिक प्रविधिबाट फाटेको एक्टोपिक गर्भावस्था (भत्किएको अस्थानिक गर्भावस्था) तथा ट्युबल लिगेसनसम्बन्धी स्त्रीरोग शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष धिरज कुमार गुप्ताका अनुसार उक्त शल्यक्रियासँगै नारायणी अस्पतालमा आधुनिक, सुरक्षित र बिरामीमैत्री शल्य सेवाको औपचारिक सुरुवात भएको संकेत मिलेको छ। लेप्रोस्कोपिक प्रविधिबाट गरिएको शल्यक्रियाले बिरामीलाई कम पीडा, न्यून जोखिम तथा छिटो स्वास्थ्य लाभ हुने फाइदा दिने उहाँले बताउनुभयो ।

शल्यक्रिया सफल भएपछि अध्यक्ष गुप्ताले अपरेशन थिएटर (ओटी) टिम, सम्बन्धित चिकित्सक, नर्स तथा सम्पूर्ण अस्पताल परिवारप्रति आभार व्यक्त गर्नुभयो। उहाँले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको समर्पण, टिमवर्क र प्रतिबद्धताका कारण यो ऐतिहासिक उपलब्धि सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा नारायणी अस्पताललाई थप प्रविधिमैत्री तथा विशेषज्ञ सेवासहितको केन्द्रको रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरंजन साहले सरकारी अस्पतालमै उन्नत स्त्रीरोग शल्य सेवाको पहुँच विस्तार हुनु आम नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँका अनुसार यस सफलतासँगै नारायणी अस्पतालले गुणस्तरीय, सुरक्षित र आधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा ठोस कदम चालेको छ ।

लेप्रोस्कोपिक प्रविधिबाट गरिएको शल्यक्रियाले सरकारी अस्पतालप्रति जनविश्वास बढाउने अपेक्षा गरिएको छ भने स्थानीयस्तरमै जटिल शल्य सेवा उपलब्ध हुँदा बिरामीले बाहिरी अस्पताल धाउनुपर्ने बाध्यता पनि कम हुने विश्वास अस्पताल प्रशासनले व्यक्त गरेको छ । सौजन्य यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: