Loktantra Khabar National Weekly
Ad

१ लाख ३३ हजार ९८० निर्वाचन प्रहरीका लागि भर्ना खुल्यो

लोकतन्त्र खबर
२४ पुष २०८२

सर्लाही – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै कुल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको हो । निर्वाचन सुरक्षामा खटिन इच्छुक नागरिकहरूले पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

सार्वजनिक बिदाका दिनमा समेत दरखास्त संकलन गरिने प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले जानकारी दिएको छ । दरखास्त फारम काठमाडौँ उपत्यकाभित्रका तीनवटै जिल्ला प्रहरी परिसर तथा देशभरका सबै जिल्ला प्रहरी कार्यालयबाट लिन र बुझाउन सकिने व्यवस्था गरिएको छ । साधारण लेखपढ गर्न जान्ने, १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकहरू निर्वाचन प्रहरीमा सहभागी हुन सक्नेछन् ।

माघ ५ देखि ९ गतेसम्म छनोट प्रक्रिया सञ्चालन गरिनेछ भने माघ १२ गते अन्तिम नतिजा सार्वजनिक गरिनेछ । छनोट भएका उम्मेदवारहरूले माघ १५ देखि २४ गतेसम्म तालिम लिनुपर्नेछ । निर्वाचन प्रहरीको कार्य अवधि ४० दिनको रहनेछ । सो अवधिमा उनीहरूले ३४ हजार ७७६ रुपैयाँ तलब सुविधा पाउनेछन् । साथै, रासन तथा आवतजावत खर्चबापत ८४६ रुपैयाँ थप उपलब्ध गराइनेछ ।

त्यसैगरी, तालिम अवधिका ४ दिनका लागि दैनिक ३ सय रुपैयाँका दरले खाजा खर्च दिइनेछ भने पोसाकको व्यवस्था प्रहरी प्रधान कार्यालयले गर्नेछ । सौजन्य धड्कन एफ.एम.

प्रतिक्रिया दिनुहोस्: