काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोपेली देश बुल्गेरिया र क्रोएसिया पठाउने भन्दै एक कन्सल्टेन्सीले १८ करोडभन्दा बढी पैसा उठाएको पाइएको छ । १ सय २० जनाभन्दा बढी व्यक्तिबाट १८ करोड रुपैयाँ भन्दा बढी उठाएर कन्सल्टेन्सी सञ्चालक फरार भएका हुन् ।
कोटेश्वर नजिकै रहेको कोज्मो कन्सल्टेन्सी सञ्चालक बुल्गेरिया र क्रोएसिया पठाउने भन्दै पैसा उठाएर सञ्चालक फरार भएका हुन् । ४ जनवरीमा भारत नयाँदिल्ली मार्फत जानुपर्ने भन्दै पीडितलाई गाडीमा पठाउने भनिएको थियो । तर, त्यही दिन कन्सल्टेन्सी बन्द गरेको पाइएपछि पीडितहरू कन्सल्टेन्सी पुगेका थिए । त्यहाँ पुग्दा कार्यालयमा ताला लागेको थियो ।
त्यसपछि बुझ्दै जाँदा आफूहरूबाट पैसा उठाएर सञ्चालक फरार भएको थाहा पाएका थिए । १ सय २० भन्दा बढी पीडित ठगिएको पैसा उठाउन प्रहरी र वैदेशिक रोजगार विभाग पुगेका छन् । कन्सल्टेन्सीले प्रतिव्यक्ति १ लाखदेखि २ लाख ८५ हजार रुपैयाँसम्म उठाएको पाइएको छ । कसरी परे ठगीमा ? सामाजिक सञ्जालमा बुल्गेरिया र क्रोएसियामा वैदेशिक रोजगारीका लागि विज्ञापन आएको थियो ।
विज्ञापन देखेपछि उनीहरू कन्सल्टेन्सी पुगेर बुझ्ने क्रममा विभिन्न पदका लागि माग आएको भन्दै आवेदन दिन भनिएको थियो । एक पीडितका अनुसार उनले फेसबुक पेजमा राखिएको विज्ञापनका आधारमा बुल्गेरिया जाने प्रक्रिया अघि बढाएका थिए । विज्ञापन देखिसकेपछि अन्य युवा वैदेशिक रोजगारीमा जान तयार भए । ‘विज्ञापन देखेपछि हामी अफिस भिजिट गर्न गयौं, जाँदा उनीहरूको काउन्सेलिङ पनि चित्तबुझ्दो थियो,’ ती पीडितले भने, ‘र, उनीहरूले दिएका अफरहरू पनि चित्तबुझ्दो थियो, अनि त्यो भइसकेपछि हुन्छ नि त भनियो, प्रोसेस गरियो ।’ प्रोसेस गर्दा पहिलो चरणमा २५ देखि ३० हजार रुपैयाँ खर्च लाग्ने बताइएको थियो । प्रहरी रिपोर्टका लागि भन्दै कन्सल्टेन्सीले उक्त रकम माग गरेको थियो ।
सोही अनुसार पीडितले कन्सल्टेन्सीको बैंक खातामा पैसा जम्मा गरे । प्रहरी रिपोर्ट आएपछि वर्क पर्मिट प्रोसेस अगाडि बढाउनुपर्ने बताइएको र त्यसका लागि दिल्ली जानुपर्ने र नजानेका हकमा थप पैसा लाग्ने भनियोे । ‘एम्बेसीमा स्ट्याम्पिङ गर्नुपर्छ, भेरिफाई गर्नुपर्छ, त्यो भेरिफाइ गर्न तपाईंहरू आफैं गएर लिएर आउनुहुन्छ भने त्यो पैसा चाहिँदैन, हामीलाई एडभान्स पनि दिनुपर्दैन,’ कन्सल्टेन्सी सञ्चालकको भनाइ उद्धृत गर्दै ती पीडितले भने, ‘यदि तपाईंहरू गर्न सक्नुहुन्न भने हामी गरिदिन्छौं, त्यसको चार्ज २५ हजार रुपैयाँ लाग्छ ।’ त्यसो भन्दै कन्सल्टेन्सी सञ्चालकले सोही हिसाबमा पैसा उठाएका ती पीडितले बताए । उनका अनुसार पैसा बुझाइसकेपछि ३÷४ महिनामा वर्क पर्मिट आयो ।
त्यसपछि आफूहरूलाई वर्क पर्मिट र कन्ट्याक्ट पेपर पनि दिइयो । दुवै कागज पढ्दा राम्रै लाग्यो । वर्क पर्मिट आएपछि उनीहरूले कन्सल्टेन्सीले भने अनुसार पैसा जम्मा गर्न थाले । ‘उसले आजभोलि नै पेमेन्ट गर भनिसकेको थियो, अनि हामीले यतातिर कहाँ बुझ्न मिल्छ यो जेनुइन हो कि होइन भनेर त्यो खोज्दा हाम्रो नेपालमा एउटा त्यो सिस्टम पनि छैन,’ ती पीडितले भने, ‘यत्रो ठगी भइरहेको छ भनेपछि सरकारले वर्क पर्मिट भेरिफाई गर्ने, यो फेक हो कि हो भन्ने खालको एउटा संस्था पनि छैन ।’ यसअघि विदेश जानेसँग बुझ्दा जेनुइन हो भन्ने भएपछि आफूहरूले पैसा जम्मा गरेको र त्यसका लागि बैंक तथा क्यूआरमार्फत नै पेमेन्ट गरेको पीडितको भनाइ छ ।
मेडिकल गर्न थप ५ हजार ५ सय रुपैयाँ लिएर मेडिकल समेत गराएका थिए । मेडिकल गराएपछि धेरैले २ लाखका दरले पैसा तिरे । त्यो दिइसकेपछि उनीहरू विदेश जान पाउनेमा ढुक्क भए । पैसा बुझाएपछि कन्सल्टेन्सीले ५ तारिखमा दिल्लीमा भीएफएसको एप्वाइन्टमेन्ट छ भनेर भनियो र ४ जनवरीमा दिल्ली जानुपर्छ भनियो । दिल्ली जाने क्रममा कतिपयलाई आफैं दिल्ली आउन भनियो भने कतिपयलाई सँगै जाने भनियो । त्यसपछि कतिपय आफैं दिल्ली जाने तयारीमा थिए भने कतिपय उनीहरूसँगै जान तयार थिए । उनीहरू मार्फत जानेहरूसँग गाडी भाडादेखि खानासमेत गरेर १८ हजार रुपैयाँ जम्मा गर्न लगाइयो । उनीहरूले त्यो पैसा पनि जम्मा गरे ।
४ जनवरीमा काठमाडौंबाट गाडी हिँड्ने भनिएको र ३ तारिख रातिसम्म पनि दिल्ली जाने को हो भनेर सम्पर्क माग्दा दिइएन । ‘भोलि हिँड्ने हो कि होइन, कति बेला हिँड्ने हो के हो भनेर सोधेँ, भोलि हिँड्ने हो तपाईंहरू रेडी भएर बस्नुस्, काठमाडौंबाट हिँड्नुभन्दा २ घण्टा अगाडि तपाईंहरूलाई फोन गर्छु भन्यो,’ अर्का एक पीडितले भने, ‘त्यसो भनिसकेपछि भोलिपल्ट बिहान १० बजेसम्म पनि कुनै अपडेट आएन ।’ भोलिपल्ट बिहान १० बजेसम्म पनि अपडेट नआइसकेपछि पीडितले फोन गरे ।
तर, फोन स्विच्ड अफ थियो । एउटा फोन स्विच्ड अफ भइसकेपछि अर्कोलाई गरे, फोन लाग्यो तर उठेन । अफिसको वाइफाई अन गरेर ह्वाट्सएपमा कल लाग्ने बनाएर, मोबाइल अफिसमा राखेर भागेछन् । त्यो नम्बरमा फोन गरिरहँदा फोन त लागिरह्यो, तर उठेन । त्यसपछि ठगिएको महसुस भएपछि उनीहरू कन्सल्टेन्सीको अफिस पुगे ।
हिजो सोमबार बिहान ८ बजे दुई महिला आएर अफिस खोलिरहेको सूचना पाएका थिए । त्यसपछि उनीहरू तत्काल अफिस पुगेर दुई जना महिलालाई नियन्त्रणमा लिए । पछि प्रहरी बोलाएर सोधपुछ गर्दा करिब ३ सय व्यक्तिबाट १५ देखि १८ करोड रुपैयाँ उठाएको पत्ता लागेको थियो । सौजन्य अनलाइनखबर

