काठमाडौं । काठमाडौं महानगरपालिका–२६ स्थित सञ्चयकोष चोक नजिकको सडक खण्डबाट शङ्कास्पद अवस्थामा ट्याक्सीमा राखेर लगिँदै गरेका दुई जना बालिकाको प्रहरीले उद्धार गरेको छ । सो घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यही पौष १२ गते राति करिब १२ः३० बजे बा.२ ज २३२७ नम्बरको ट्याक्सीमा शङ्कास्पद तवरले दुई जना बालिकालाई राखी लिएर जान लागेको अवस्थामा प्रहरीले फेला पारी ट्याक्सीको पछाडी सिटमा रहेका उनीहरूको उद्धार गरेको हो ।
प्रहरीका अनुसार ट्याक्सीभित्र रहेका राजन तामाङ र लक्ष्मण तामाङले विभिन्न मितिमा विभिन्न व्यक्तिहरूसँग महिलाहरूको फोटो आदान–प्रदान गर्ने, रकमको विषयमा सौदाबाजी गर्ने तथा महिला तथा बालबालिकालाई ललाई–फकाई यौनजन्य क्रियाकलापमा संलग्न गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका व्यक्तिहरूमा काभ्रेपलान्चोक पनौती नगरपालिका–१ घर भई हाल ललितपुर गोदावरी नगरपालिका–१ बस्दै आएका २६ वर्षीय राजन तामाङ र दोलखा मेलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौं लोलाङ बस्दै आएका ३४ वर्षीय लक्ष्मण तामाङ रहेका छन् ।
घटनास्थलबाट बा.२ ज २३२७ नम्बरको ट्याक्सी एक थान, रेडमी कम्पनीको मोबाइल एक थान र सामसुङ कम्पनीको मोबाइल एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनामाथि अभद्र व्यवहार तथा मानव बेचबिखन तथा ओसारपसार कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । साथै, प्रतिवादी लक्ष्मण तामाङको हकमा यसअघि मिति २०७३।०६।३० गते जिल्ला प्रहरी कार्यालय दोलखामा कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दा दर्ता भएको तथ्य पनि खुलेको छ । सौजन्य डिसी नेपाल

