Loktantra Khabar National Weekly
Ad

ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, क्षतिपूर्तिको माग गर्दै प्रदर्शन

लोकतन्त्र खबर
२२ पुष २०८२

रौतहटको बौधिमाई नगरपालिका–२ मा इभी भ्यानको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएपछि स्थानीयवासी र मृतकका आफन्तले दोषीमाथि कडा कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन थालेका छन् ।

मंगलबार बिहानदेखि बौधिमाईको कोपवा चौकमा टायर बाल्दै चर्का नाराबाजीसहित प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीहरूले न्याय सुनिश्चित नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।

हुलाकी राजमार्गअन्तर्गत भुवाली चोकमा सोमबार बिहान इभी भ्यान र मोटरसाइकल ठोक्किँदा बौधिमाई नगरपालिका–२, इनर्वा गाउँ निवासी २५ वर्षीय दीपेन्द्र बैठाको मृत्यु भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बैठालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पु¥याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मृतकका दाजु उपेन्द्र बैठाले इभी भ्यान चालकले जानीजानी सडकको छेउबाट मोटरसाइकललाई ठक्कर दिएको आरोप लगाउँदै दोषीलाई कडा कारबाही र उचित क्षतिपूर्ति नपाएसम्म शव नबुझ्ने अडान परिवारले लिएको बताए ।

घटनापछि इभी भ्यान चालक पक्राउ परे पनि गाडीका साहु बौधिमाई नगरपालिका–२, इनर्वा निवासी राकेश जैसवाल सम्पर्कविहीन रहेको पीडित पक्षको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रुद्रराज कँडेलका अनुसार दुर्घटनामा संलग्न इभी भ्यान र चालक राजपुर नगरपालिका–५ निवासी २५ वर्षीय उपेन्द्र साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

उनका अनुसार हाल काठमाडौंमा रहेका गाडी साहु राकेश जैसवाललाई जानकारी गराइसकिएको छ । उनी मंगलबार बिहान ११ बजेको फ्लाइटमार्फत सिमरा हुँदै जिल्ला प्रहरी कार्यालय गौर आइपुगेपछि क्षतिपूर्तिको विषयमा छलफल हुने प्रहरीको भनाइ छ ।

मृतकको शव सोमबारदेखि पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको भए पनि पीडित परिवारको अडानका कारण हालसम्म पोस्टमार्टम हुन सकेको छैन ।

दुर्घटनापछि उत्पन्न तनावलाई ध्यानमा राख्दै सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । स्थानीयवासीका अनुसार पछिल्लो समय बिहानैदेखि लाग्ने बाक्लो हुस्सु–कुहिरोका बीच सवारी साधन तीव्र गतिमा चलाइँदा रौतहटमा दैनिकजसो दुर्घटना हुने गरेको छ । सौजन्य जनकपुर टुडे

प्रतिक्रिया दिनुहोस्: