मलंगवा – निर्वाचन आयोगले सर्लाही जिल्लाका चारवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृत तोकेको छ । आयोगले जिल्ला अदालतका मुख्य न्यायाधीश पुष्पराज थपलियालाई जिल्लाको मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत तोकेको छ ।
कानुनअनुसार प्रत्येक जिल्लामा जिल्ला अदालतका मुख्य न्यायाधीश मुख्य निर्वाचन अधिकृत रहने व्यवस्था छ । सोहि अनुसार उनि जिल्लाको मुख्य निर्वाचन अधिकृत छनोट भएका छन् ।
यस्तै, निर्वाचन क्षेत्र नं. १ मा सर्वोच्च अदालतका इजलास अधिकृत टीकाबहादुर थापा, क्षेत्र नं. ३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव नवराज आचार्य र क्षेत्र नं. ४ मा सर्वोच्च अदालतका इजलास अधिकृत विनोदप्रसाद घिमिरे निर्वाचन अधिकृत तोकिएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माघ महिनाको पहिलो सातादेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगले जनाएको छ ।
सर्लाहीमा फागुन २१ गते हुने निर्वाचनका लागि ५ लाख ११ हजार ६०६ जना अन्तिम मतदाता कायम छन् । जिल्लाभर ३१२ मतदानस्थलमा ६२८ मतदान केन्द्र निर्धारण भइसकेका छन् । सौजन्य धड्कन एफ.एम.

