Loktantra Khabar National Weekly
Ad

अयोध्यामा श्रीरामललाको प्राणप्रतिष्ठाको तेस्रो वार्षिकोत्सवको अवसरमा गहवामाई मन्दिर प्रांगणमा सवा लाख दीप प्रज्वलन

लोकतन्त्र खबर
१७ पुष २०८२

वीरगञ्ज । अयोध्यास्थित श्रीराम जन्मभूमि मन्दिरमा भगवान् श्रीरामललाको प्राणप्रतिष्ठाको तेस्रो वार्षिकोत्सव तथा प्रतिष्ठा द्वादशीको पावन अवसरमा वीरगञ्जको प्रसिद्ध गहवामाई माईस्थान मन्दिर प्राङ्गणमा लगातार तेस्रो वर्ष सवा लाख दीप प्रज्वलन गरिएको छ ।

विश्व हिन्दु परिषद् नेपालको आयोजनामा सम्पन्न कार्यक्रम धार्मिक तथा सांस्कृतिक आस्थालाई केन्द्रमा राखेर आयोजना गरिएको थियो । कार्यक्रममा भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

आयोजकका अनुसार भगवान् श्रीरामप्रति श्रद्धा अभिव्यक्त गर्नुका साथै सनातन धर्म र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले दीप प्रज्वलन गरिएको हो । पर्सा जिल्लासहित छिमेकी राष्ट्र भारतबाट पनि ठुलो सङ्ख्यामा श्रद्धालुहरूको उपस्थिति थियो ।

सवा लाख दीपको प्रकाशले मन्दिर परिसर उज्यालोमय बनेको थियो भने सम्पूर्ण वातावरण भक्तिमय र धार्मिक भावनाले ओतप्रोत भएको थियो ।

आयोजकहरूले कार्यक्रममार्फत धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने लक्ष्य राखेका थिए । कार्यक्रमलाई भव्य, सभ्य र अनुशासित रूपमा सम्पन्न गर्न स्थानीयवासी, स्वयंसेवक तथा विभिन्न धार्मिक संघसंस्थाहरूको सक्रिय सहयोग रहेको जनाइएको छ ।

कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि तथा पूर्व प्रतिनिधिसभा सदस्य विना जयसवाल कुर्मीले पहिलो दीप प्रज्वलन गरेर गरेकी थिइन् । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी तर्फबाट आगामी प्रतिनिधिसभा निर्वाचनमा सांसद पदको उम्मेदवार समेत रहेकी कुर्मीले दीप प्रज्वलन गर्दै भगवान् श्रीरामको जयजयकार गरेकी थिइन् । त्यसपछि उनले सनातन धर्म र भगवान् श्रीरामले मानव सभ्यतालाई सिकाएका पाठहरूको बारेमा चर्चा गरिन् ।

उनले निर्वाचनपछि आफ्नो पहिलो प्राथमिकता नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गराउनु रहेको बताइन् । साथै, श्री गहवामाई मन्दिरलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन विभिन्न योजनाहरू ल्याउने प्रतिबद्धता व्यक्त गरिन् । नेपाल हिन्दु परम्परा र संस्कृतिको देश भएको उल्लेख गर्दै उनले हिन्दु राष्ट्र कायम गराउने आफ्नो प्रमुख लक्ष्यलाई दोहो¥याइन् ।

कार्यक्रमले सनातन संस्कृतिको जगेर्ना र धार्मिक एकताको सन्देश दिएको आयोजकहरूको भनाइ छ । सौजन्य यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: