Loktantra Khabar National Weekly
Ad

साधुसन्तले आज बांगलादेश विरुद्ध विरोध प्रदर्शन गर्दै

लोकतन्त्र खबर
१० पुष २०८२

जनकपुरधामस्थित रामानन्दीय वैष्णव संघले बंगलादेशमा हिन्दु युवा दिपुचन्द्र दासको बर्बरतापूर्ण हत्या भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

संघका अध्यक्ष तथा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बुधबार तुलसी स्मारकमा एक पत्रकार सम्मेलन आयोजना गरी घटनालाई धर्मको आडमा गरिएको अमानवीय तथा मानवता विरोधी अपराधको संज्ञा दिएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दासले बंगलादेशमा पटकपटक अल्पसंख्यक हिन्दु धर्मावलम्बीहरू लक्षित आक्रमण र हिंसाका घटनाहरू भइरहँदा पनि सम्बन्धित निकाय मौन बस्नु गम्भीर चिन्ताको विषय भएको बताए । उनले दिपुचन्द्र दासको हत्या कुनै एक व्यक्तिमाथिको आक्रमण मात्र नभई समग्र मानव मूल्य, धार्मिक सहअस्तित्व र अल्पसंख्यक अधिकारमाथिको खुला प्रहार भएको उल्लेख गरे । संघका अध्यक्ष दासका अनुसार भोलि बिहीबार दिउँसो ३ बजे जानकी मन्दिरको प्राङ्गणबाट विरोध ¥याली सुरु गरिनेछ ।

¥याली जनकपुरधामका विभिन्न स्थानमा परिक्रमा गर्दै शान्तिपूर्ण रूपमा सम्पन्न गरिने योजना रहेको उनले जानकारी दिंदै कार्यक्रममा हिन्दुधर्मप्रति आस्था राख्ने सम्पूर्ण व्यक्ति, साधुसन्त, सामाजिक अभियन्ता तथा जनकपुरधामवासीलाई सहभागी हुन आग्रह गरेका छन् । महन्थ दासले बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूमाथि भइरहेको हिंसा अन्तर्राष्ट्रिय मानवअधिकारको समेत गम्भीर उल्लङ्घन भएको भन्दै दोषीमाथि कडा कारबाही गर्न नेपाल सरकारले कूटनीतिक पहल लिनुपर्ने माग समेत गरेका छन् ।

पत्रकारहरुको जिज्ञासमा रामरोशन दासले चेतावनी दिँदै भने, ‘यदि बंगलादेशमा हिन्दुहरूमाथि भइरहेका आक्रमण रोकिएनन् भने हिन्दु समाज, साधुसन्त र धार्मिक संघसंस्थाहरू बंगलादेशविरुद्ध सशक्त प्रदर्शन गर्न बाध्य हुनेछन् ।’ सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: