Loktantra Khabar National Weekly
Ad

चिसो बढेपछि विद्यालयहरू पाँच दिनका लागि बन्द, आइतबारदेखि खुल्ने

लोकतन्त्र खबर
७ पुष २०८२

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले बढ्दो प्रतिकूल मौसम र चिसोका कारण बालबालिकाहरूको स्वास्थ्यमा पर्न सक्ने असरलाई सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरू केही दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
पछिल्लो केही दिनदेखि बढेको चिसो र शीतलहरका कारण मौसम प्रतिकूल बनेपछि विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै आज पुस ७ गतेदेखि ११ गतेसम्म पाँच दिनका लागि सम्पूर्ण विद्यालयहरूमा पठनपाठन स्थगित गरिएको वीरगञ्ज महानगरपालिकाअन्तर्गतको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले एउटा सूचना जारी गर्दै बिदा वर्षे बिदाबाट कट्टा हुने गरी दिइएको हो । बिदाबाट विद्यार्थीहरूको स्वास्थ्य सुरक्षा हुने र अनावश्यक जोखिमबाट बच्न सकिने शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले अपेक्षा गरेका छन् । विद्यालयहरू पुनः पुस १३ गते आइतबारदेखि नियमित रूपमा सञ्चालन हुने जनाइएको छ ।

“पुस १० गते क्रिसमस परेको हुनाले सार्वजनिक बिदा भएको, पुस ११ गते शैक्षिक क्यालेन्डर अनुसार नै सट्टा बिदा रहेको र पुस १२ गते शनिवार परेको हुनाले विद्यालयहरू पुस १३ गते (आइतबार) देखि पूर्ववत् समय तालिका अनुसार सञ्चालन हुने,” सूचनामा भनिएको छ । सम्बन्धित सबैलाई यो सूचना जानकारीको लागि अनुरोध गरिएको छ ।
निर्णयले वीरगञ्जका हजारौँ विद्यार्थीहरूलाई छोटो राहत प्रदान गरेको छ भने अभिभावकहरूले पनि बालबालिकाको स्वास्थ्यलाई प्राथमिकता दिइएकोमा स्वागत गरेका छन्। तराई क्षेत्रमा पुस महिनामा प्रायः घना कुहिरो र शीतलहरको प्रभाव बढ्दा बालबालिकाहरूलाई विशेष असर पार्ने गर्दछ । सौजन्य यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: