Loktantra Khabar National Weekly
Ad

एसपी पाठकद्वारा मङ्सिर महिनाको प्रगति विवरण सार्वजनिक ः १०५ नयाँ मुद्दा दर्ता, ७ करोड ६१ लाखको सामान बरामद

लोकतन्त्र खबर
३ पुष २०८२

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले मङ्सिर महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ ।
पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकका अनुसार मङ्सिर महिनामा जिल्लाभर कुल १ सय ५ वटा नयाँ मुद्दा दर्ता भएका छन् । दर्ता भएकामध्ये २५ वटा जघन्य तथा गम्भीर प्रकृतिका अपराध रहेका र ७ करोड ६१ लाख ५० हजार ८ सय ३७ रुपैयाँ बराबरका सामान बरामद गरिएको छ ।
पर्सा प्रहरीका अनुसार ती मुद्दामध्ये ६ जना बालिकासहित एक महिलामाथि जबरजस्ती करणीका घटना, विवाहसम्बन्धी कसुरका ४ वटा, बहुविवाहका २ वटा, अपहरण तथा शरीर बन्धकसम्बन्धी १ वटा र एक वटा बाल यौन दुरुपयोगका मुद्दा दर्ता भएका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १४ वटा मुद्दामा पीडकविरुद्ध उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ । यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी उजुरीतर्फ घरेलु हिंसाका ७७ र सामाजिक हिंसाका ९७ उजुरी दर्ता भएका छन् । दर्ता भएका उजुरीमा पीडित तथा प्रतिवादीको उमेर समूह, उजुरीको प्रगति र मिलापत्र वा अदालतमा पठाइएको विवरणसमेत समावेश गरिएको प्रहरीले जानकारी दिएको छ ।
मङ्सिर महिनामा आर्थिक अपराध तथा बैंकिङ कसुरका २९ वटा मुद्दा दर्ता भएका छन् भने ठगीसम्बन्धी २ वटा र अनुचित लेनदेनसम्बन्धी १ वटा मुद्दा रहेको छ । यसैगरी अदालतबाट दोषी ठहर भई सजाय भुक्तान बाँकी रहेका ८३ जना प्रतिवादीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
साथै विगत २० वर्षदेखि फरार रहेका २ सय जना प्रतिवादीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणतर्फ पनि पर्सा प्रहरीले उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ । यस क्रममा अवैध भन्सार छली हुँदै आएको ७ करोड ६१ लाख ५० हजार ८ सय ३७ रुपैयाँ बराबरका सामान बरामद गरिएको छ ।
त्यसैगरी मङ्सिर महिनामा जिल्लामा कुल २१ वटा विपद् घटना भएका छन् । घटनामा २ वटा चौपायाको मृत्यु भएको छ भने ७ जना व्यक्ति घाइते भएका छन् । विपद्का कारण १ करोड ४१ लाख ५५ हजार रुपैयाँ बराबरको मालसामान जलेर नष्ट भएको पर्सा प्रहरीले जनाएको छ ।
पर्सा प्रहरीले आगामी दिनमा पनि अपराध नियन्त्रण, शान्ति सुरक्षा तथा कानुन कार्यान्वयनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । सौजन्य यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: