Loktantra Khabar National Weekly
Ad

पटक पटक निर्णय हुन्छ, संचालन हुँदैन बसपार्क

लोकतन्त्र खबर
२२ मंसिर २०८२

मलंगवा, २२ मंसिर – सर्लाही सदरमुकाम मलङ्गवामा करोडौँ रुपियाँ खर्चिएर निर्माण गरिएको बसपार्कबाटै बस सञ्चालन गर्ने निर्णय भएको छ ।
मलङ्गवा नगरपालिका–२, स्थित जिल्ला प्रहरी कार्यालय छेउमा आठ करोड ३१ लाख रुपियाँ खर्चिएर बसपार्क निर्माणको काम पूरा गरेको तीन वर्ष बितिसक्दा समेत बसपार्क पूर्णरुपमा सञ्चालन हुन सकेको छैन् । अहिले उक्त सुविधायुक्त बसपार्कबाट बस सञ्चालन नगरी वडा नं. ९ स्थित मुख्य बजारको बिचमै रहेको कृषि विकास बैङ्कको जग्गाबाट बस छुट्ने गरेका छन् ।
कृषि विकास बैङ्कले पुरानो बसपार्क रहेको जग्गामा अब आफ्नै भवन बनाउन लागेकाले उक्त जग्गा खाली गराउने काममा सहयोग गरिदिन स्थानीय प्रशासनसँग आग्रह गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा हिजो सम्पन्न सरोकारवालाको बैठकले अब पुस १ गतेदेखि जसरी पनि नयाँ निर्माण भएको बसपार्कमै बस पार्किङ हुने र त्यहाँबाट छुट्ने व्यवस्था मिलाउने निर्णय गरेको बैठकमा सहभागी नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले जानकारी दिए । टर्मिनल भवन, सार्वजनिक शौचालय, खानेपानी, यात्रु प्रतिक्षालय, वर्कशप क्षेत्र, पार्किङसहितको सुविधासम्पन्न बसपार्क अपायक ठाउँमा बनाइएको भन्दै बस व्यवसायीले बसपार्कसम्म जान मानेका छैनन् ।
बिचमा केही समय नयाँ बनेको बसपार्कबाटै बस छुट्न थालेका भए पनि पछि फेरि बजारको बिचमा रहेको कृषि विकास बैङ्ककै जग्गामा रहेको पुरानो बसपार्कबाट बस सञ्चालन हुन थालेका हुन् । मलंगवा नगरपालिकाले संचालन गर्न नसकेको नयाँ र व्यवस्थित बसपार्क । (तस्बीर ः उज्यालो अभियान) मलङ्गवा नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद यादव, प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिज्ञ, नागरिक समाज, बस व्यवसायीलगायत सरोकारवालाको उपस्थितिमा भएको बैठकले नगरपालिका कार्यालयले पुस १ गतेदेखि बसपार्कबाट बस छुट्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
म्याजिक, टेम्पुलगायतका साना सवारीको कहाँ व्यवस्थापन गर्ने भन्ने जिम्मेवारी पनि नगरपालिका कार्यालयलाई नै प्रदान गरिएको छ । मलंगवा बसपार्क संचालनको सम्वन्धमा सिडिओ कार्यालयमा अयोजित छलफल । (तस्बीर ः उज्यालो अभियान)
म्याजिक र टेम्पुले बजारबाटै यात्रु उठाइदिने गरेको भन्दै बस व्यवसायीले नयाँ बनेको बसपार्कमा जान इन्कार गर्दै आइरहेका छन् । हिजोको बैठकले जिल्लाभित्र गुड्ने भारतीय सवारी साधनको नजिकको प्रहरी चौकीमा अभिलेखीकरण गर्ने, लागुऔषध नियन्त्रण तथा रोकथामका लागि सीमा नाकामा कडाइ गर्ने र ठुलो आवाजमा डिजे बजाउन प्रतिवन्ध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कडरियाले बताए । डिजे र भारतीय सवारीको सम्वन्धम यसरी पटकपटक यस प्रकारको निर्णय भएपनि कार्यान्वयन हुन नसकेको गुनासो स्थानीयले गर्दै आइरहेका छन् । सौजन्य उज्यालो अभियान

 

प्रतिक्रिया दिनुहोस्: