Loktantra Khabar National Weekly
Ad

मलंगवामा ३४ औँ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बृहत् सरसफाइ कार्यक्रम सम्पन्न

लोकतन्त्र खबर
२० मंसिर २०८२

राजिव साह–
सर्लाही २० मंसिर । सर्लाही सदरमुकाम मलंगवा नगरपालिकामा ३४ औँ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान–२०८२ को अवसरमा शनिवार बृहत् नगर सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । महिला तथा बालबालिका माथि हुने सबै प्रकारका हिंसा रोकथाम तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्य सहित आयोजना गरिएको सो कार्यक्रम वातावरणीय स्वच्छता र समुदायको सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले सम्पन्न भएको हो ।

 

शनिवार बिहान शहीद चोकबाट सुरु गरिएको सरसफाइ अभियान बिच बजार हुँदै नगरपालिका कार्यालय परिसरमा आइ सम्पन्न गरिएको थियो । नगर प्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रह्यो ।

 

कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामराज कडरिया, नेपाल प्रहरी प्रमुख एसपी योगेन्द्र कुमार खड्का, सशस्त्र प्रहरी प्रमुख देवबहादुर चन्द, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत होम प्रसाद घिमिरे, नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी, मानव अधिकार रक्षक संजाल सर्लाहीका अध्यक्ष मुकेश कुमार मिश्र लगायत सहभागिता थिए ।

 

यस्तै, नगरपालिका कार्यालयका शाखा प्रमुख, कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो । अभियानका क्रममा बजार क्षेत्र, सार्वजनिक स्थल तथा कार्यालय परिसरमा भेला भएका फोहोर संकलन, सडक छेउका झाडी सफाइ र वातावरणीय स्वच्छताको सन्देश मूलक गतिविधि समेत सञ्चालन गरिएको थियो ।

 

सहभागीहरूले लैंगिक हिंसा अन्त्यका लागि सामाजिक चेतना, समुदाय–प्रहरी र स्थानीय सरकारबीचको सहकार्य महत्वपूर्ण हुनेमा जोड दिएका थिए । १६ दिने अभियानका नियमित गतिविधिहरूसँगै सरसफाइ कार्यक्रमले नगरवासीमा सकारात्मक सन्देश फैलाएको सहभागीहरूले बताए । स्थानीय तहबाट सुरु गरिएका यस्तो पहलले लैंगिक हिंसा विरुद्धको जनसचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: