Loktantra Khabar National Weekly
Ad

उद्योगका मजदुर विभिन्न माग राखी आन्दोलनमा

लोकतन्त्र खबर
९ मंसिर २०८२

बारा । बाराको सिमरामा अवस्थित जगदम्बा स्टिल, त्रिवेणी सिम्पेक्स र हुलास स्टिल लगायतका मजदुरहरू माग पूरा गराउने उद्देश्यले आन्दोलनमा उत्रिएका छन्। अखिल नेपाल औद्योगिक मजदुर संघ, जिल्ला समिति बाराको अगुवाइमा मजदुरहरूले आज साँघुरो मागसहित सिमरा बजार परिक्रमा गरी ईलाका प्रशासन कार्यालय सिमरा अगाडि नाराबाजी गरेका हुन्।
मजदुरहरूले तलब वृद्धि, सामूहिक सम्झौताको कार्यान्वयन, नियमित काममा नियमित श्रमिक राख्ने व्यवस्था लागू गर्न माग गरेका छन्। साथै उनीहरूले आफूमाथि लगाइएको झुटा मुद्दा खारेज गर्न, निष्कासित मजदुरलाई पुनर्बहाली गर्न, बन्द उद्योग पुनः सञ्चालन गर्न, बोनस सम्झौता कार्यान्वयन गर्न, तथा श्रम ऐन र सामाजिक सुरक्षा ऐन लागू गर्न जोरदार आवाज उठाएका छन्।
“न्यूनतम पारिश्रमिक लागू गर“, “मजदुर मार्न पाइँदैन“, “संसारका मजदुर एक हौँ“ जस्ता नारासहित प्रदर्शनमा सहभागी मजदुरहरू उद्योग प्रशासन तथा सम्बन्धित निकायले आफ्ना माग पूरा गर्न ध्यान दिनु पर्नेमा जोड दिएका छन्।
मजदुरहरूले माग पूरा नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्। सौजन्य यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: