वीरगञ्ज । रौतहटको चन्द्रपुर नगरपालिका–४ देउराली चोकमा सशस्त्र प्रहरी बलले विशेष सूचनाको आधारमा अवैध हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने २२ वर्षीय सुमन आचार्य रहेका छन् ।
शनिवार दिउँसो करिब साढे ३ बजे सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प सन्तपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक राजेन्द्रबहादुर बस्नेतको नेतृत्वमा खटिएको टोलीले आचार्यलाई नियन्त्रणमा लिएको थियो ।
शङ्का लागेर गरिएको खानतलासीमा उनले बोकेको झोलाबाट दुई थान अत्याधुनिक पेस्तोल, दुई वटै पेस्तोलका म्यागेजिन, १३ राउन्ड गोली, एक थान खुकुरी, ओप्पो मोबाइल फोन, ग्लोबल आईएमई बैंकको भिजा एटीएम कार्ड, लाइसेन्स रसिद र सोही झोला बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद भएका पेस्तोलमध्ये एउटा ९ एमएम ब्राउनिङ (मोडल वीएफ–९८–९, सिरियल नम्बर ०००१६९ ०८२३६) र अर्को इटालीमा निर्मित ब्रेटा गार्डोनेट भिटी (सिरियल नम्बर पीएक्स ३५५२३०) रहेको छ । गोलीहरूको प्याकेटमा ३११२३ उल्लेख रहेको प्रहरीले बताएको छ ।
सीमा सुरक्षा बल गौरका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीका अनुसार बरामद सामग्रीसहित आचार्यलाई सशस्त्र प्रहरी सुरक्षा बेस सन्तपुरमा राखिएको छ र उनलाई आवश्यक कानुनी कारबाहीका लागि चाँडै नेपाल प्रहरीको जिम्मा लगाइने छ ।
हतियार कहाँबाट ल्याइएको थियो र कुन उद्देश्यका लागि बोकेर हिँडिरहेका थिए भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ । सौजन्य यात्रा डेली

