Loktantra Khabar National Weekly
Ad

नगर अस्पतालले अब इकोकार्डियोग्राफी सेवा पनि दिने

लोकतन्त्र खबर
५ मंसिर २०८२

लालबन्दी, ०३ मंसिर – नगर अस्पताल लालबन्दीमा इकोकार्डियोग्राफी सेवा सुरु गरिएको छ । पछिल्लो समय विभिन्न प्रकारका विशिष्टीकृत सेवा प्रदान गर्न सुरु गरेको नगर अस्पतालले इकोकार्डियोग्राफी अर्थात् इको सेवासमेत प्रारम्भ गरेको हो । यो सेवा सुरु भएसँगै अब यहाँका मुटुका बिरामीले आफ्नै ठाउँमा सेवा पाउने भएका छन् । इकोकार्डियोग्राफी सेवाअन्तर्गत बिरामीको मुटुमा समस्या भए÷नभएको पत्ता लगाउन सकिने नगर अस्पताल लालबन्दीका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीले उज्यालो अभियानसँग बताए । उनका अनुसार अस्पतालका इन्टरनल मेडिसिन डा. अभिनेषकुमार झा वीर अस्पताल काठमाडौंमा इको सेवासम्वन्धी एक महिने तालिम लिएर आएका छन् । नगर अस्पताल आफैले आवश्यक औजारउपकरण खरिद गरेर इकोकार्डियोग्राफी सेवा सुरु गरेको मेसु डा. चौधरीले जानकारी दिए । तत्कालका लागि डा. झाले दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म इकोकार्डियोग्राफी सेवा प्रदान गर्ने नगर अस्पताल लालबन्दीले जनायो । नगर अस्पतालमा यसअघि देखि नै मेडिकल सुपरिटेन्डेन्टसमेत रहेका मानसिक रोग विशेषज्ञ डा. चौधरीले मानसिक रोगका बिरामी, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामविश्वास राय दनुवारले सीएससहितको प्रसूति सेवा प्रदान गर्दै आइरहेका छन् । अस्पतालमा पछिल्लो समय ओपिडीतर्फ पनि चिकित्सक बसेर सेवा प्रवाह गर्न थालेसँगै बिरामीको चाप बढ्दो छ । लालबन्दी र आसपासका पालिकाबाट दैनिक ठुलो सङ्ख्यामा बिरामी आउँदा अस्पताललाई चाप थेग्नै मुस्किल पर्दै आइरहेको छ । लालबन्दी नगरपालिका मातहत रहेको नगर अस्पतालमा क्रमिकरुपमा अन्य विशिष्टीकृत सेवा थप गर्दै लैजाने योजना रहेको नगरप्रमुख वासुदेव अधिकारीले उज्यालो अभियानसँग बताए । सौजन्य उज्यालो अभियान

प्रतिक्रिया दिनुहोस्: