Loktantra Khabar National Weekly
Ad

उत्कृष्ट स्वास्थ्य सेवा प्रवाहमा लालबन्दी जिल्लामै बन्यो पहिलो

लोकतन्त्र खबर
२६ कार्तिक २०८२

मलंगवा, २५ कात्तिक – स्वास्थ्यको क्षेत्रमा संचालित विभिन्न कार्यक्रमहरुको मूल्याङ्कनका आधारमा सर्लाहीको लालबन्दी नगरपालिका जिल्लामै प्रथम भएको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा स्वास्थ्य कार्यक्रमहरुको वार्षिक प्रगति सूचकको मूल्याङ्कनका आधारमा ११ नगरपालिका र नौ गाउँपालिकामध्ये लालबन्दी नगरपालिका ९९ अङ्क प्राप्त गर्दै जिल्लामा पहिलो बनेको हो । स्वास्थ्य सेवा प्रवाहमा पहिलो बन्न सफल लालबन्दी नगरपालिकालाई प्रमुख जिल्ला अधिकारी रामुकाज कडरिया र स्वास्थ्य कार्यालयका प्रमुख डा. नवलकिशोर झाले प्रशंसा–पत्रसहित सम्मान गरेका छन् । नगरप्रमुख वासुदेव अधिकारी, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, स्वास्थ्य शाखा प्रमुख मुमताज मिकरानी, सुरेन्द्र खतिवडा, रोशन चौधरीलगायत भएर सम्मान ग्रहण गरेका छन् । यस्तै स्वास्थ्य कार्यक्रमहरुको मूल्याङ्कनको आधारमा विष्णु गाउँपालिका ९६.७० अङ्कसहित दोस्रो र हरिपुर नगरपालिका ९६.२० अङ्क ल्याएर तेस्रो भएका स्वास्थ्य कार्यालय सर्लाहीका तथ्याङ्क अधिकृत लालबाबु रायले जानकारी दिए । रायका अनुसार ९५.४० अङ्क प्राप्त गरी हरिवन नगरपालिका चौंथो र ९४.२० अङ्क प्राप्त गरी बसबरिया गाउँपालिका पाँचौं बनेका छन् । यि पाँच पालिकालाई स्वास्थ्य कार्यक्रमहरुको प्रगति विश्लेषणको आधारमा (ए प्ल) ग्रेडिङ प्रदान गरिएको छ । त्यस्तै स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय वार्षिक समिक्षा गोष्ठीमा चक्रघट्टा गाउँपालिका ८८.९०, पर्सा गाउँपालिका ८८.६०, ईश्वरपुर नगरपालिका ८८.१०, धनकौल गाउँपालिका ८८.१०, बागमती नगरपालिका ८४, चन्द्रनगर गाउँपालिका ८३.९०, बरहथवा नगरपालिका ८३.३०, ब्रह्मपुरी गाउँपालिका ८०.९० र मलङ्गवा नगरपालिका ८०.८० अङ्क प्राप्त गरी ‘ए’ ग्रेडिङमा परेका छन् । त्यसैगरी गोडैता नगरपालिका ७८.३०, बलरा नगरपालिका ७७.८०, कौडेना गाउँपालिका ७७.८०, हरिपुर्वा नगरपालिका ७१.७०, कविलासी नगरपालिका ७०.७० र रामनगर गाउँपालिका ७० अङ्क प्राप्त गरी ‘बी प्लस’ ग्रेडिङमा परेका स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । पालिकाले सञ्चालन गरेको खोप कार्यक्रम, मातहतका स्वास्थ्य संस्थाबाट प्रदान गरिएको स्वास्थ्य सेवा, स्वास्थ्य संस्थामा भएको सुत्केरीको दर, कुपोषित बालबालिका, क्षयरोग तथा एचआइभी सङ्क्रमित बिरामीको अवस्था र उपचारको स्थिति, सम्वन्धित निकायमा समयमै विवरण पठाएको लगायतलाई आधार मानेर पालिकाहरुको स्वास्थ्य कार्यक्रमको अवस्था मूल्याङ्कन हुने गरेको छ । सौजन्य उज्यालो अभियान

 

प्रतिक्रिया दिनुहोस्: