Loktantra Khabar National Weekly
Ad

मधेश प्रदेशमा असंवैधानिक कदमविरुद्ध वीरगञ्जमा जनमत पार्टीको विरोध प्रदर्शन

लोकतन्त्र खबर
२६ कार्तिक २०८२

वीरगञ्ज । मधेश प्रदेशमा प्रदेश प्रमुखद्वारा गरिएको विवादास्पद कदम र नव–नियुक्त मुख्यमन्त्रीको असंवैधानिक नियुक्तिविरुद्ध जनमत पार्टी पर्साले वीरगञ्जमा विरोध प्रदर्शन गरेको छ। मंगलबार बिहान वीरगञ्ज घन्टाघर क्षेत्रमा आयोजित विरोधसभामा, पार्टीका नेता–कार्यकर्ताहरूले संविधानको रक्षा र संघीयताको सम्मानको माग गर्दै नाराबाजी गरेका थिए। उनीहरूले “संविधानको रक्षा गर”, “संघीयताको सम्मान गर”, “असंवैधानिक सरकार खारेज गर” जस्ता नारा लगाउँदै ¥याली समेत निकालेका थिए। जनमत पार्टीले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधान विपरीत ‘जंगली क्षेत्र’मा तथाकथित मुख्यमन्त्रीको नियुक्ति गरेको भन्दै तीव्र आपत्ति जनाएको छ। पार्टीका नेताहरूले उक्त कदमलाई संघीयता र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको ठाडो प्रहार भएको टिप्पणी गरेका छन्। कार्यक्रममा बोल्दै नेताहरूले भने, “संविधान र संघीयताको मर्ममाथि आघात पु¥याउने जो कोही पनि दण्डित हुनुपर्छ।” उनीहरूले असंवैधानिक रूपमा गठन गरिएको सरकार तत्काल खारेज गर्न माग गर्दै संघीय संरचनाको सम्मान गर्न सरकारसँग आग्रह गरे। विरोधसभामा जनमत पार्टीका प्रदेश र जिल्ला स्तरीय नेता, युवा, विद्यार्थी तथा महिला संगठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेताहरूले प्रदेशमा लोकतान्त्रिक अभ्यासको पुनस्र्थापनाका लागि राजनीतिक र कानुनी दुवै आन्दोलन अघि बढाउने चेतावनी दिएका छन्। सौजन्य यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: